बसन्तपुरमा ठड्याइयो ‘चीर’, होली सुरु


१५ फाल्गुन २०७९, सोमबार
holi ccEdSRSLO8

काठमाडौं । काठमाडौंमा आज (सोमबार) देखि फागु सुरु भएको छ । सोमबार बिहान ७ः४५ बजे शुभसाइत हनुमानढोकामा चीर ठड्याई फागु सुरुवात गरिएको हो ।

हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ । हनुमानढोकालगायत पाटन र भक्तपुरमा पनि चीर ठड्याइन्छ । ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा भक्तजन भीड लागेको थियो । भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होली सुरुआत भएको छ ।

काठबाट बनेको दुई हात लामो भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ । चाँगुनारायणमा भने लिच्छविकालदेखि नै होलीका दिन त्यहाँ रहेको राधाकृष्ण र रुक्मिणीको खट जात्रा निकालेर अबिर छर्दै चोक चोक घुमाइन्छ । चीर ठड्याउनुको पनि विशेष महत्व रहेको संस्कृतविद् बताउँछन् । तीनतले चीरमा झुण्ड्याइने रंगीविरंगी कपडा श्रीकृष्णले लुकाइदिएको गोपिनीहरूको सारी मानिन्छ ।

गोपिनीहरू नदीमा निर्वस्त्र नुहाइरहेको समयमा कृष्णले सबैको कपडा एउटा रूखको हाँगामा लुकाइदिन्छन् । आफू सोही रूखमा चढेर बाँसुरी बजाउन थाल्छन् । गोपिनीहरूले अब उप्रान्त निर्वस्त्र नुहाउन नपाइने सर्तमा ती सबै कपडा फिर्ता पाएका थिए ।

यसैको खुसियालीमा सांकेतिक चीर ठड्याइने गरिएको जोशी बताउँछन् । चीरमा झुण्ड्याइने कपडाको टुक्राले नारीले आफ्नो जीवनमा सिक्ने ६४ कला दर्शाउने समेत उनी बताउँछन् । रंगीचंगी झल्लर कपडाका टुक्रा झुण्ड्याउने र टुप्पोमा मयलको रूख बाँधेर गुरुजुको पल्टनसहित तोप पड्काउँदै अबिर छरेर होली शुभारम्भ गरिन्छ ।

काठमाडौंका धालासिक्वाका मानन्धरहरूले चीर ठड्याउँछन् । सोही समयमा हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रंगीचंगी कपडाका टुक्रा झुड्याएर मयलको रूख गाडेर पूजा गरिने गरिन्छ ।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको चीर पूर्णिमाको रातमा ढालिन्छ । लगत्तै चीरलाई टुँडिखेल पु¥याई दाह गरेपछि होली समाप्त हुन्छ । त्यसको भोलिपल्ट वसन्त ऋतु सुरु हुन्छ । यो वर्ष होली पहाडी जिल्लामा फागुन २२ गते र तराईका जिल्लामा फागुन २३ गते मनाइँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७