होलीलाई मर्यादित बनाउन काठमाडौंमा चेकजाँचमा कडाइ


२२ फाल्गुन २०७९, सोमबार
traffic

काठमाडौं । होली पर्वलाई मर्यादित बनाउन काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (सोमबार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।

काठमाडौं प्रहरी परिसरले मर्यादित ढंगले होली मनाउन आग्रह गर्दै हिजो (आइतबार) नै माइकिङ समेत गरेको थियो । नेपाल प्रहरी प्रधान कार्यालय नक्शालका एसएसपी दीपेन्द्र जिसीले अहिलेसम्म होली शान्तिपूर्ण रहेको र कुनै अप्रिय खबर नआएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७