मध्यपहाडी राजमार्ग : घोडाबाधे–हटिया खण्डमा मर्मत जारी


१ चैत्र २०७९, बुधबार
Lokmarga diktel 1
फाइल फोटो

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड कतै कालोपत्रे गर्न बाँकी छ भने कतै कालोपत्रे भइसकेको खण्ड उप्किएर क्षत विक्षत छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जिल्ला सदरमुकाम बागलुङ बजार खण्ड अझै कालोपत्र हुन सकेको छैन ।

अन्य खण्ड कालोपत्र भइसकेको लोकमार्गको घोडाबाधेदेखि हटियासम्मको सडक कालोपत्र भएको सात वर्षमै बिग्रिएको छ । अहिले उक्त खण्ड मर्मतका लागि पुन: ठेक्का सम्झौता भएर धमाधम काम भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । दुई वर्ष अघिदेखि घोडाबाधेदेखि हटियासम्मको २० किलोमिटर सडक बाढी पहिरोका कारण क्षत विक्षत भएपछि अहिले धममाधम मर्मतको काम चलिरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

‘घोडाबाँधे–हटियास्थित कालोपत्र सडक जीर्ण भएपछि भदौदेखि मर्मतको काम भइरहेको छ, अहिले ६० प्रतिशत मर्मतको काम सकिएको छ, धेरै स्थानमा पूर्वाधारको काम भइरहेको र असारसम्म सडक उप्किएको भागमा सडक कालोपत्र सम्पन्न गर्ने गरी अगाडि बढेका छौं’, उनले भने, ‘१४ करोड लागतमा यसै चालु आर्थिक वर्षमा लगाइएको ठेक्का अनुसार अहिले धमाधम सडक मर्मतको काम भइरहेको छ ।’

कालोपत्र गर्न बाँकी स्थानमा कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, कालोपत्र विग्रिएको स्थानमा कालोपत्रका ग्राभेल गर्ने, नाली, कल्र्भट निर्माण गर्ने, घुम्ती सडक ढलान गर्ने र आवश्यक स्थानमा पहिरो रोकथामका लागि पक्की पर्खाल लगाउने कार्य भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजनाले जनाएको छ ।

२० करोड लागत आनुमानको कालोपत्र सडक मर्मत ठेक्का रु १४ करोडमा जोशी निर्माण सेवासँग चालु आर्थिक वर्षमै सम्झौता गरिएको थियो । निर्माण सेवाले असारसम्म सडक कालोपत्र सम्पन्न गर्ने गरी मर्मत सहितको कालोपत्र सडक बनाउने ठेक्का सम्झौतामा गरेको हो । घोडाबाधेदेखि हटियासम्मको सडक मध्यपहाडी राजमार्गको बागलुङ खण्डमापर्ने सडकमध्ये सबै भन्दा पहिला कालोपत्र गरिएको खण्ड हो ।

उक्त घोडाबाँधेदेखि हटियासम्मको सडक आर्थिक वर्ष २०७१÷७२ मा कालोपत्र सम्पन्न भए पनि हालसम्म सडक विभागलाई हस्तान्तरण नहुँदा सडकले संरक्षण पाउन सकेको थिएन । ‘सडक कालोपत्र भइसकेपछि सडकको मर्मत सम्भार र हेरचाह सडक विभागले गर्ने हो, मध्यपहाडी राजमार्गको सबै खण्ड कालोपत्र नभएकाले हस्तान्तरणको प्रक्रियामा हुँदा समस्या भयो, आयोजनाले सडक मर्मत गर्न मिल्दैन’, आयोजना प्रमुख भण्डारीले भने, ‘कालोपत्र गरेर छोडेको सडक मर्मत सम्भार नहुँदा पहिरो जाने, नाली बिग्रने गर्दा ठूलो क्षति पुगेको थियो, करिब ५० प्रतिशत सडक बिग्रिएको अवस्थामा मर्मतका लागि ठेक्का आह्वान गरेर काम अगाडि बढेको हो, असारसम्म उक्त खण्ड चिटिक्क पर्नेछ ।’

लोकमार्गमा डिजाइन भइरहेको कालोपत्र सबैभन्दा सस्तो कालोपत्र सडक भएकाले समयमै कालोपत्र सडक मर्मत गर्न आवश्यक रहेको आयोजनाका प्राविधिक बताउँछन् । कालोपत्र भएको सडक सात वर्षमा क्षतविक्षत हुँदा सडक जीर्ण बनेपछि सवारीसाधन सञ्चालनमा निकै सास्ती भएको सवारीचालक रमेश पौडेलले गुनासो गरे ।

‘सडक कालोपत्र भएपछि टिक्नपर्ने हो, भिरालो जमिन भएर समेत होला, सडक कतै–कतै मात्र कालोपत्र देखिन्छ, जाततै खाल्टाखुल्टी भएको समस्या छ’ उनले भने, ‘अहिले सडक मर्मत तथा कालोपत्रका लागि काम भइरहेको छ, जिल्ला सदरमुकाम जस्तो कालोपत्र नहुँन भन्दा मर्मत पछि सडक राम्रो बन्नेमा आशावादी छौँं ।’

गलकोट खण्डमा बर्खाको समयमा नाली व्यवस्थापन नहुँदा सडकमा भल भगेर कालोपत्र सडक नोक्सानी गरेको गलकोट नगरपालिकाका प्रवक्ता तथा गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले बताए । उनका अनुसार अहिले सडक मर्मतले तीव्रता पाएसँगै उक्त खण्ड पुनः नयाँ हुनेमा विश्वास व्यक्त गरे ।

उक्त सडक मर्मत तथा कालोपत्रसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने तयारी मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतको छ । लोकमार्गबाट अस्तव्यस्त ग्रामीण सडक निर्माण गर्दा, सडक निर्माणमा लापरबाही र कालोपत्र सडकको निरन्तर मर्मत सम्भार नहुँदा तीन वर्षदेखि उक्त कालोपत्र खण्डमा समेत यात्रुलाई यात्रा गर्दा निकै सास्ती हुँदै आएको छ ।

कालोपत्र उप्किएर यात्रा गर्न निकै समस्या भएको छ भने दैनिक सयौँ साना तथा ठूला सवारी साधन गुड्ने सडकको अवस्था जीर्ण बन्दा यात्रुले सास्ती खेप्दै आएका छन् । बिहुँदेखि जिल्ला सदरमुकाम सम्मको खहरे सम्मको १४ किलोमिटर सडक भने ठेक्का लगाएको ६ वर्षसम्म कालोपत्रे हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७