प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छ : डा. बाबुराम भट्टराई

‘चुनावअघि भिजेको बिरालो जस्ता प्रचण्ड पछि बाघ जस्तो गर्जन थाल्नु भयो’


१९ बैशाख २०८१, बुधबार
baburam

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताका लागि जे पनि गर्न तयार रहेको आरोप लगाएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए । उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए । उनले भने, ‘माओवादी आन्दोलनमा जोडिएका साथीहरुको एउटा ठूलो समूह थियो । ती साथीहरु पनि बडो दुविधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नु भएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो ।’

उनले भने, ‘प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नु हुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो । तर माओवादी आन्दोलनभित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं । माओवादी युगको, माओवादी विचारको समय सिद्धियो । त्यसले आफ्नो काम सम्पन्न गर्‍यो । अब नयाँ ढंगले रुपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नु भएको छ । हामी त्यसमा आउँछौं भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर अहिले जाउ, दुई पार्टी अलग अलग भए पनि हुन्छ । त्यहाँ पार्टी एकता कहीँ पनि भनिएको थिएन । माओवादीमा जाने कहीँ पनि भनिएको थिएन । तर पछि तपाईले सबै देखिहाल्नु भयो । जब निर्वाचन भयो । खोलो तर्‍यो, लौरो बिर्स्याे । प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेर जस्तो भएर गर्जन थाल्नु भयो । अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहोर्‍याउनु थाल्नु भयो ।’ उनले देशका पुराना पार्टीहरु भ्रष्टाचारमा डुवेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जति गरे पनि नसच्चिने टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७