ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात, देशका विभिन्न जिल्लामा बर्षा


५ चैत्र २०७९, आईतवार
dhorpatan baglung 3
केहि दिनअघि ढोरपाटन क्षेत्रमा परेको हिमपात

बागलुङ । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए ।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उहाँले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ ।

‘हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो’, घिमिरेले भने, ‘अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।’ हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चार-पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो ।

देशका विभिन्न स्थानमा वर्षा
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर देशका पहाडी भूभाग र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ‘भर्खरै पनि पश्चिमबाट दिपायल, धनगढीको आकाश भएर नयाँ किसिमको मौसमी प्रणाली प्रवेश गरेको छ, त्यसले गर्दा मेघगर्जन, बदलीसहित वर्षा गराउने बादलको विकसित भएको छ र यो प्रणाली अपराह्नसम्म रहनेछ’, मौसमविद् झाले भने ।

अबका दुई-तीन दिनसम्म देशका पहाडी भूभाग र तराईका केही स्थानमा बदली, मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाको विगत एक घन्टाको विवरणमा डडेलधुरामा तीन मिलिमिटर वर्षा मापन गरिएको छ । ताप्लेजुङ, जुम्लालगायत स्थानमा अहिले वर्षा भइरहेको छ । काठमाडौँमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

स्थानीय वायुसँगै पश्चिमी वायु र स्थानीयरुपमा न्यूनचापीय प्रणालीको विकास भई वर्षा गराउने प्रणाली विकसित भइरहेकाले उक्त प्रणालीले बदली गराउने र मेघगर्जन, चट्याङसहित वर्षा गराउने मौसमविद् झाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७