चितवन–२ मा एमालेका न्यौपानेको उम्मेदवारी दर्ता, भन्छन्, ‘जित्नेमा ढुक्क छु’


२० चैत्र २०७९, सोमबार
Ram prasad Neupane chitwan 2

चितवन । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्ष हुन् ।

न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो । चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन–२ बाट निर्वाचित भएका थिए । उमेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेले आफूले कहिल्यै नराम्रो नगर्ने बताएका छन् ।

एमाले चितवन जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेले सोमबार देशको विकास र समृद्धिको अभियानमा जनताको सेवामा आफूलाई समर्पित गर्ने बताएका छन् । ‘म एउटा वाचा गर्छु । तपाईंहरूको कसम, नेपाली जनताको कसम, म कहिल्यै नराम्रो गर्ने छैन । यो विकास र समृद्धिको अभियानमा नेपाली दाजुभाइ, दिदीबहिनीको सेवामा आफूलाई समर्पित गर्नेछु’, उनले भने ।

उनले चितवन–२ मा उपनिर्वाचन आफूहरूको चाहना नभएको बताएका छन् । ‘हामीलाई उपनिर्वाचनको चाहना थिएन । जनतालाई पनि चाहना थिएन । हामीले गराएर पनि यो उपनिर्वाचन भएको होइन । कसले गरायो, तपाईंहरूलाई थाहा छ’, न्यौपानेले भने । उनले आफ्नो जित सुनिश्चित रहेको पनि दावी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७