मधेस सरकार र चुरे अभियानबीच सहमति पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता


२६ चैत्र २०७९, आईतवार
chure avoyanta

धनुषा । मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच पाँचबुँदे सहमति भएको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सरकार र चुरे वनजङ्गल संरक्षण अभियानबीच यस्तो सहमति भएको हो । सहमतिसँगै चुरे तथा वनजङ्गल संरक्षण अभियन्ताले जनकपुरधामस्थित जनकचोकमा गरिरहेको आमरण अनशनसमेत स्थगन भएको छ भने आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैदेखि फिर्ता लिइएको छ ।

प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच भएको सम्झौतामा स्थानीय सरकारले एकीकृत भूमिहीन बस्तीका लागि जग्गा उपलब्ध गराउनु पर्नेछ । सम्झौतामा प्रदेश सरकारले बस्ती निर्माण गर्न आवश्यक पर्ने बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाएको छ । बस्ती निर्माण भएपश्चात् उक्त बस्तीअन्तर्गतका आवासहरु व्यावसायिक प्रयोजनका लागि बिक्री वितरण गर्न भने नपाइने सहमति पत्रमा उल्लेख छ ।
त्यस्तै, चुरे वनजङ्गल संरक्षण संवद्र्धनका लागि अनियमितता तथा बेथिति रोक्न प्रदेश सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाइएको छ । सम्झौताअनुसार डिभिजन वन कार्यालय पर्साद्वारा सञ्चालित योजनाहरु तथा यसअघि सिरहा वन क्षेत्र र मारुती सिमेन्ट उद्योग हाताभित्र रहेका जग्गाबारे अनियमितता भएको भन्ने गुनासोबारे छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिने छ ।

वैदेशिक रोजगारमा जाँदा प्रदेशवासीले भोग्नुपरेका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने र आवश्यक परेमा सङ्घीय सरकारसँग सहकार्य गर्ने सहमति पत्रमा उल्लेख छ । सहमतिपत्रमा मधेस प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन तथा वन राज्यमन्त्री मोहमद रहबर अन्सारी र चुरे तथा वनजङ्गल संरक्षण अभियानका तर्फबाट अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले हस्ताक्षर गरेका छन् ।

सहमतिपश्चात् मुख्यमन्त्री यादवले चुरे क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी प्राकृतिक स्रोत साधनको संरक्षण र तराई मधेसलाई मरुभूमिकीकरण हुनबाट बचाउने सन्दर्भमा प्रदेश सरकार संवेदनशील रहेको बताए । उनले चुरे क्षेत्रमा हुने कुनै किसिमको अनियमितता तथा प्राकृतिक स्रोतको अवैज्ञानिक दोहन सरकारलाई सह्य नहुने जिकिर समेत गरे ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७