‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ मा ५० जनाले पाए रोजगारी


१७ असार २०८०, आईतवार
mela iUdsHM5Q9H

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एक दिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ मा ५० जनाले रोजगारी पाएका छन् । मेलामा राखिएका विभिन्न सङ्घसंस्था, उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीले मेलामा आवेदन दिएकामध्ये उनीहरुलाई मेलास्थलमै रोजगारी दिएको मेला मूल आयोजक समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए ।

मेला अवलोकनमा आएका पाँच हजारभन्दा बढी युवा युवती एवं विद्यार्थीमध्ये मेला प्रदर्शनी कक्षमा रहेका विभिन्न रोजगारदाता कम्पनीमा चार सय ८० जनाले रोजगारीका लागि आवेदन दिएको उनले बताए । मेलामा रोजगारी प्रदान गर्न इन्स्योर परियोजनाले छ, भक्तपुर चेम्बर अफ कमर्सले ५०, पूर्ण हस्तकला सङ्कलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य सङ्घले ११, जिल्ला सहकारी सङ्घ भक्तपुरले आठ, प्याब्सनले एक सय १७, बालकुमारी महिला समाज मध्यपुरथिमिले ५०, रोजगारी सर्भिसेज प्रालिले ९८ जनाको व्यक्तिगत विवरण सङ्कलन गरेको छ ।

मेलामा सबैभन्दा धेरै निजी विद्यालयहरूको संस्था प्याब्सन भक्तपुरले ४१ जनाका लागि रोजगारीको अवसर प्रदान गरेको छ । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यावसायिक सङ्घसंस्थाले समेत गरी एक सयभन्दा बढीलाई रोजगारीका लागि सुनिश्चितता गरेको जनाइएको छ ।

यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार छ सय ५० जनाले परामर्श सेवा लिएको वडा नं ३ का वडाध्यक्ष समेत रहेका आचार्यले बताए । मेलामा निजी उद्योगका १२, सङ्घसंस्थाका पाँच, प्राविधिक विद्यालयका आठ, खाना, स्वास्थ्य सेवा गरी कुल ३४ प्रदर्शनी कक्ष थिए ।

मेलाको शुभारम्भ गर्दै सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले मध्यपुरथिमिलाई शिक्षा, व्यावसायिक र पर्यटन गरी तीन क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिने बताएका हुन् । ‘मध्यपुरथिमिलाई विशेषगरी तीनवटा क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिन्छ । एउटा शैक्षिक केन्द्र, दोस्रो व्यावसायिक केन्द्र र तेस्रो यहाँको धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गरी पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ’, उनले भने । उनले भने, ‘मध्यपुरथिमिमा जुन सम्भावना छ, त्यसको विकास र विस्तार गर्न सके यहाँका नागरिकलाई यहीँ मलेसिया, दक्षिण कोरिया र अरबका देश बन्न सक्छ ।’

मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनतासमक्ष गरिएको रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता पूरा गर्न रोजगार मेला आयोजना गरिएको बताए । उनले मेलाका माध्यमबाट स्थानीयलाई रोजगारी दिने, रोजगारीको खोजीमा रहेका युवा र रोजगारदातालाई प्रत्यक्ष भेट गराउने र युवा विद्यार्थीलाई उनीहरूको वृत्ति विकासका लागि परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अन्य मेलाको तुलनामा यो रोजगार मेला नौलो रहेको चर्चा गर्दै मेलाको यसपटकको अनुभव र सिकाइलाई ग्रहण गरी आगामी दिनमा पनि यस्तो मेला आयोजना गरिने बताए । बिहानदेखि परेको वर्षाका बाबजुद मेलामा उल्लेख्य सहभागिता रहेको थियो । स्वीस सरकार विकास सहयोग एसडिसी, इन्स्योर परियोजना र हेल्भाटासको सहयोग रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७