रियालिटी शो ‘महागफाडी’ घोषणा : निर्णायकमा शैलेन्द्र, लुनिभा र अभिनेता बुद्धि


१५ श्रावण २०८०, सोमबार
maha gafadi1690764994

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’ को औपचारिक घोषणा गरिएको छ । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको असोज तेस्रो साताबाट प्रशारण हुनेछ ।

‘महागफाडी’ लाई सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर नरेशनाथ योगीले निर्देशन गर्दैछन् । ‘मनोरञ्जनका विभिन्न विधामध्ये वाक कला पनि एक हो । जसले अहिलेसम्म सही प्लेटफर्म पाएको छैन । बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नवीन प्लेटर्फम सावित हुनेछ’, उनले भने ।

शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्ने छन् । यो शोमा मातृभाषामा समेत अडिसन दिन मिल्ने छ । शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ । फिजिकल रूपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिने आयोजकले बताएको छ । दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिनेछ ।

‘महागफाडी’ को निर्णायकमा हास्यव्यंग्य कवि शैलेन्द सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । ‘महागफाडी’ को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्ट रनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन दिइनेछ । चौथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७