डेङ्गुबाट एक जनाको मृत्यु


२६ श्रावण २०८०, शुक्रबार
dengue mosquito1636608898

चितवन । डेङ्गुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ठेगाना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको संक्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।

कैदीबन्दीमा आँखा पाक्ने समस्या
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ । चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः संक्रमण फैलँदै गएको उनले जानकारी दिए । संक्रमितलाई छुट्टै कोठामा राखिएको छ । उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिए । कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ । हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन् । यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए ।

छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उनको भनाइ छ । जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ । जसका कारण शिक्षण संस्था बन्द छन् । भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ । भरतपुर आँखा अस्पतालमा बिरामीको संख्या झडण्डै दोब्बर पुगेको छ । बिरामी बढेपछि सहजरूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ । आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७