दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला


१० भाद्र २०८०, आईतवार
dengue mosquito1636608898

बैतडी । तराईका जिल्लामा बढी हुने डेङ्गु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । दार्चुलामा प्रदेशकै बढी संक्रमित पनि भेटिएका छन् ।’

पहाडमा पनि डेङ्गु संक्रमण बढ्दै गएको र संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘यहाँ पनि डेङ्गु संक्रमण बढेको छ । सबैले सचेत रहन आवश्यक छ ।’

डेङ्गु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन् । यसका साथै गम्भीर प्रकृतिको डेङ्गु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट–खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ ।

डेङ्गु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए । वर्षातमा दैनिक डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा डेङ्गु संक्रमण ह्वात्तै बढेको छ । सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेङ्गु संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ । यस्तै अगस्ट महिनामा भने डेङ्गु संक्रमण ह्वात्तै बढेको पाइएको छ ।

अगस्तको हालसम्म दुई सय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ । उनले भने, ‘अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु संक्रमितको संख्या अधिक बढेको पाइएको छ । गर्मी र वर्षातको समय रहेकाले यो संख्या बढेको हो ।’

यसअघि सन् २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५ जनामा संक्रमण देखापरेको थियो । प्रदेशको तथ्याङ्कअनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा एक सय २५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझाङमा १२, डडेल्धुरामा नौ र बैतडीमा छ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन ।

गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको संख्या बढ्न थालेको जोशीले बताए । उनले भने, ‘डेङ्गुको जोखिम कात्तिकसम्ममै रहन्छ । वर्षातको समयमा लामखुट्टे उत्पादन बढी हुने र यसको टोकाइबाट संक्रमण पनि हुन जान्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७