अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री


१२ भाद्र २०८०, मंगलवार
prachanda samajbadi morcha butwal scaled

बुटवल । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने बताए । समाजवादी मोर्चाले मङ्गलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो अझै टुङ्गो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।’

उनले समाजवादी गणतन्त्रका लागि अब छिट्टै सडकमा जाने पनि बताए । उनले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिब उत्पीडित जनताका लागि अधिकार प्रत्याभूत गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताए ।
प्रधानमन्त्री दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको पनि आरोप लगाए । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुनसक्छ भन्दै उनले प्रश्न गरे ।
लुम्बिनीमा समाजवादी मोर्चा घोषणा

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा घोषणा गरिएको छ । मङ्गलबार बुटवलमा आयोजना गरिएको मोर्चाको सन्देश सभामा प्रदेशस्तरीय समाजवादी मोर्चामा चयन गरिएका समितिका सदस्यको नाम घोषणा गरिएको हो ।

समाजवादी मोर्चामा आबद्ध दलबाट तीन-तीन जना सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको हो । माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ तथा नारायण र सम्झना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७