आठ वर्षपछि तातोपानी नाका सर्वसाधरणका लागि खुल्दै

२०३ जनालाई पास, मितेरी पुल र लिपिङ क्षेत्र झकिझकाउ


१५ भाद्र २०८०, शुक्रबार
Tatopani naka

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमा नाका तातोपानी आज (शुक्रबार) देखि सर्वसाधरणका लागि खुल्ने भएको छ । भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरिँदै छ । शुक्रबार (सेम्टेम्बर १) देखि सर्वसाधारणका लागि नाका खोल्न लागिएको हो । नाका खुल्ने खुशीमा मितेरी पुल र लिपिङ क्षेत्र झकिझकाउ बनाइएको छ ।

गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौं’, उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने छन् ।

०७२ वैशाख १२ को भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी र गत वैशाख १८ मा निर्यात खुलेको थियो । आठ वर्षपछि नेपाल र चीनका नागरिक आउजाउ गर्न पाउने हुँदा पर्वझैं वातावरण बनेकाले आवश्यक तयारीमा कस्सिएको अध्यागमन कार्यालय कोदारीका प्रतिनिधि तिलक मगरले बताए । ‘सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई आउजाउ गर्न आवश्यक कागजात तयारी अवस्थामा छन्, भूकम्पअघि प्रयोग भएका हरियो र वानडे दुवै किसिमका प्रवेश पास जारी गरिएको छ, जसमा सुरुमा दुई सय तीन जनाका लागि पास जारी भएको छ,’ मगरले भने ।

सीमाबाट ३० किमि क्षेत्रका स्थानीयलाई हरियो र अन्यले वानडे पास पाउने प्रावधान रहेको उनको भनाइ छ । नाकामा अत्याधुनिक मितेरी पुल र लार्चामा तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघि चिनियाँ कम्पनीले बनाइ दिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड र सुरक्षा गेट भूकम्प एवं भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७