नेम्वाङका कान्छा छोरा सुहाङ आइपुगे, जेठो मिङ्सो आज आइपुग्दै, भोलि अन्त्येष्टि

काठमाडौँ । दिवंगत एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन् । सोमबार राति बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट नेपाल आइपुगेका हुन् । १५ दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए ।
सुवासका कान्छा छोरा सुहाङ हिजै (मंगलबार) राति साढे १० बजे काठमाडौं आइपुगेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिएका छन् । दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको अझै दाहसंस्कार गरिएको छैन । अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।
आज (बुधबार) दिउँसो नेम्वाङको पार्थिव शरीर उनकै निवासमा लगिने भएको छ । बेलायत रहेका जेठो छोरा मिङ्सो नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने जानकारी काफ्लेले बताएका छन् । ‘जेठो छोरा आज (बुधबार) आइपुग्नुहुन्छ’, उनले भने । सम्भवतः नेम्वाङको अन्तिम संस्कार भोलि बिहीबार हुनेछ ।
संविधान सभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ । सोमबार राति १ बजे बालुवाटारस्थित आफ्नै निवासको शौचालयमा बेहोस भएर ढलेका नेम्वाङलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको निधन हृदयाघातबाट भएको हो ।