तरकारी खेतीबाटै पुष्कर बनेका छन् पाँच करोड बढीका मालिक


२४ आश्विन २०८०, बुधबार
cucumber dang
फाइल फोटो

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाएका छन् । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ ।

हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गरेका उनले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा लगाएको काँक्रो खेतीबाट यो याममा रु सात लाख बराबरको काँक्रो उत्पादन गर्ने लक्ष्य लिका छन् । छन् । दैनिक तीन-चार क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी रु ८० देखि रु ९० सम्म थोक मूल्यमा काँक्रा बिक्री गर्नाका साथै दैनिक रु १० हजार बराबरको अन्य तरकारी पनि सन्धिखर्क बजारमा बञ्जाडेले बिक्री गरिरहेका छन् । उनले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा रु २० लाख आम्दानी हुँदै आएको छ । बञ्जाडेले गरेको देखासिकीबाट सिङ्गो गाउँवासी नै अहिले तरकारी खेतीमा लागेका छन् ।

उनले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्र्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।’ बञ्जाडे जिल्लाकै नमूना कृषक हुन् । सामान्य परिवारमा जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।

उनले भने, ‘गरेपछि जुन काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेती सुरुआत गरेका उनलाई रु पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।’ तरकारीबाट वर्षमा रु १०-१५ लाख सजिलै कमाएपछि बञ्जाडेले रु तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ । बारीमा आकाशे पानी सङ्कलन गर्न ५० हजार लिटरको पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएका छन् । । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिइएकाले  धेरै यतातिर तानिएका छन् ।

बर्सातको समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा बढी गर्व भयो’, पुष्करनाथले भने, ‘पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्‍याए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७