विश्वकप एसिया छनोट : बहराइन विजयी


१४ कार्तिक २०८०, मंगलवार
Hongkong 1024x624 1

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।

बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ४६ रनको योगफल बनाएको थियो । उसका लागि इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६२ रन बनाए । इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

हङकङका लागि नस्रुला रानाले तीन विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान दुई-दुई विकेट लिए । जितसँगै बहराइनले दुई अङ्क जोडेको छ । हिजो भएको पहिलो खेलमा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो । हङ्कङको भने यो पहिलो हार हो । हिजो भएको खेलमा हङकङले कुवेतलाई ३१ रनले हराएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ भने बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७