जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रचण्ड


२३ कार्तिक २०८०, बिहीबार
prachanda 4

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

आज (बिहीबार) पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताए । उनले हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताए । प्रधानमन्त्री दाहालले उनले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरू कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको दावी गरे । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै उनले उनको सो भूमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए ।

उनले भने ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । मानिसहरूलाई त के ग¥यो प्रचण्डले भन्ने पनि लाग्छ । तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगाको भूमिका खेल्यो । हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर मैले । अरूले सकेका थिएनन् । धरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरे । यो आँट गरेकोमा सबैले ठिकै माने कसैले विरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहीँ अहिले निकै ठूलो टिकाटिप्पणी हुने गरेको छ ।’

उनले भने, ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एकखालको कर्म पछिको ठुूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ नै हो । त्यसलाई अहिले जति दबाउन खोजेपनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एक्छिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । कार्ल मार्क्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरू कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिएपनि चिहानबाट फेरि ती जाग्छन् । र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन् । ती हजारौँ सहिदहरू कहिल्यै पनि दबिने छैनन् ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको उल्लेख गरे । उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे ।

उनले अहिले जनयुद्धलाई विद्रुपीकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताए । उनले भने ‘जनयुद्धको दर्शन, त्यसभित्र लिइएका रणनीति, अभ्यासहरू, नीतिहरू, त्यतिबेला हामीले अपनाइएका कार्यशैलीहरू, आचारसंहिताहरू, त्याग, तपस्याहरू, हामीले त कुनै तलब, भत्तामा होइन । भएको सम्पत्तिहरू पनि सकेर सम्पूर्ण रूपले राष्ट्र र जनताको निम्ति यो देशका सबै महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु सबै सबैको पहिचान र अधिकारको निम्ति आफू बरु मेटिने जतालाई सबैलाई पहिचान र अधिकार चाहियो । समावेशिता, समानुपातिकता चाहियो भन्ने उद्देश्यका साथ उदात्त विचार र भावनासहित गरिएको महान त्याग थियो ।’

उनले थपे, ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेलामा गरे पछिको अर्को ठूलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर यसको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी छ । आधिकारिक रूपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ । यसभित्र अन्तर्निहित उदात्त विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपिकरण गर्ने । र निरंकुशतालाई अगाडी ल्याउने जमर्कोहरू अझैपनि देखा पर्छन् ।’

प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरू सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताए । उनले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरूको गलत व्याख्या भएमा लेखकको इमानदारिता माथि अन्याय हुने बताए । उनले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमानदारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताए ।

उनले भने ‘उहाँले किताबमा नलेख्नुपर्ने कुरा पनि अलिअलि लेख्दिइहाल्नु भयो । कतिपय घटनाक्रम जसरी उहाँले भन्नु भएको छ, त्यही भाषामा नभनेर अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो मलाई पनि लागेको छ । तर उहाँको बानी, ब्यहोरा अनुसार उहाँले लेख्नुभएको हो । उहाँको स्वभाव अनुसार लेख्नुभएको छ जस्ताको तस्तै । तर यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने प्ले गर्न सक्ने पनि हुनसक्छ । तर म सबैलाई के भन्छु भने, सुरक्षामा काम गर्नेपनि, न्यायालयमा काम गर्नेहरूलाई पनि, राजनीतिकालाई पनि । यो उहाँको इमानदारिता र सरलताको प्रतीक हो । यसलाई कुनैपनि अर्थमा आग्रह र पूर्वाग्रहले हेरिनु हुँदैन । त्यो हेरियो भने अन्याय हुन्छ । सत्यमाथि अन्याय हुन्छ । उहाँको पारदर्शिता, इमानदारिता र निष्ठालाई त्यही रुपमा बुझिनुपर्छ ।’

कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरूको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताए । त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भूमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उनको भनाई छ । उनले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेताहरू सँगको आफ्नो सम्बन्ध, राजनीतिक भूमिकाहरूको पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७