अवैधरुपमा अमेरिका छिरेका नेपाली युवाको अमेरिकी हिरासतमा मृत्यु


१ मंसिर २०८०, शुक्रबार
Subash Shrestha

काठमाडौँ । अवैध रुपमा अमेरिका छिरेका एक नेपाली युवाको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार मृत्यु भएको हो । उनी साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा थिए । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टी गरे पनि मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।

उनी एजेण्टलाई ८५ लाख रुपैयाँ बुझाएर ०८० भदौ ५ गते उनी घरबाट हिँडेको पारिवारिक स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।

उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखियो । हिरासतमा रहँदा नै कात्तिक २७ गते उनको मृत्यु भयो । अवैधरुपमा प्रवेश गरेको भन्दै उनलाई डिपोर्ट गर्ने तयारी थियो । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार उनको शव स्वदेश झिकाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७