बल्खु तनावग्रस्त : दुर्गा प्रसाई समूहले ढुङ्गामुडा गरेपछि झडप


७ मंसिर २०८०, बिहीबार
jhadap PD3bfillFU

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा तनाव सिर्जना भएको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो । बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप भएको हो ।

कलंकीतर्फबाट मोटरसाइकल यालीसहित बल्खु पुगेको उक्त टोलीमाथि प्रसाईं पक्षका समर्थकले ढुंगामुढा गरेसँग अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले स्कटिङ गरिरहेको अवस्थामा बल्खु चोकमा पुगेसँगै प्रसाई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो । युवा संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आएको हो ।

Jhadap 1

त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । युवा संघ र दुर्गा प्रसाईले नेतृत्व गरेको धार्मिक महाअभियानको दुईटा छुट्टाछुट्टै समूहले आज एकै दिन विरोध सभा र प्रदर्शन गरिरहेका छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा शान्तरुपले विरोध सभा गरिरहेको छ भने दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विभिन्न आठ ठाउँबाट नाराजुलुससहित पुगेर बल्खुमा प्रदर्शन गरिरहेको छ ।

यो पहिलो प्रदर्शनपछि राजधानीमा भोलिदेखि एक सातासम्म विभिन्न ठाउँमा जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब साढे ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारी योजना रहेको छ ।
त्यसका लागि बिहानैदेखि सुरक्षाकर्मीहरु सिफ्ट अनुसार खटिएका छन् । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित भएका छन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताएका छन् ।

balkhu tanab

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेशसिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ रहनेछन् । प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले गर्दैछन् । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जनाएका छन् ।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न संभव नभएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई ओटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७