‘हनी ट्रयाप’ मा पारी १८ लाख असुल्ने तीन महिलालाई जनही डेढ वर्ष कैद


३ पुष २०८०, मंगलवार
Honey Trap Dang

दाङ । एक कानून व्यवसायी पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर १८ लाख रुपैंयाँ असुलेको अभियोगमा धरौटीमा छुटेका दाङ घोराहीका तीन महिलालाई जिल्ला अदालत दाङले कैद र जरिवानाको फैसला गरेको छ ।

दाङका तत्कालीन प्रहरी प्रमुख, काविल प्रहरी अफिसर सुरेश काफ्लेले हनी ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा तीन महिलालाई मुद्दा चलाएका थिए । होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिएर १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले जानकारी दिए ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट एक लाख नगद र १७ लाख चेक बुझेका घोराही–१५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए । बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले हनी ट्रयापमा संलग्नलाई कानूनी दायरामा ल्याइ अदालतले फैसला सुनाएकोमा धन्यवाद दिए । उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तिममा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलेको थियो । उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाइ आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानूनी प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७