महिला लिएर होटलमा बस्न गएका पुरुषको मृत्यु


११ पुष २०८०, बुधबार
hotel bu1Eaai5X9

सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२ बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका–२ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।

महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनेट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटलका सञ्चालक विजय यादवले जानकारी दिए । उनले भने, ‘महिला रोइकराई गर्दै आएलगत्तै हामी सबै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’

जानकारी पाउना साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए । उनले मृतकको मुख बाङ्गो भएको र त्यो देख्दा उच्च रक्तचापले घटना भएको प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताए ।

अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको छ । घर परिवारलाई खबर गरिएको बताउँदै डीएसपी बस्नेतले भने, ‘अहिले शव स्वास्थ्य संस्थामै छ । घर परिवाका व्यक्तिहरू आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउँछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७