भीड देखेपछि मन्त्री ज्यू किन रोकिनु भएन आश्चर्य लागेको छ : गृहमन्त्री श्रेष्ठ


१६ पुष २०८०, सोमबार
narayan7

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाए ।

घटना भए लगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी भएको थियो भनेर छलफल गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । ‘रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले जिम्मेवारी पूरा नगरेको र नेपाल प्रहरीको फिल्ड कमाण्डरको पनि कमजोरी दिएको प्रारम्भिक निष्कर्षअनुसार निलम्बन गरिएको छ’, उनले भने ।

अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही रु १० लाख राहतको व्यवस्था गरिएको बताए । मृतकको परिवारलाई इपिएस फण्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उनको भनाइ छ ।

‘कहीँ न कही कमजोरी भएको निष्कर्ष निकालेर प्रारम्भिकरुपमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो’, उपप्रधानमन्त्री श्रेष्ठले भने । प्रहरी बललाई स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर गरिएको जानकारी दिँदै उनले नागरिकको जीउधन, सरकारी तथा निजी भौतिक सम्पत्तिमा गम्भीर क्षति पुग्ने अवस्था देखिए सोच्नुपर्छ, सकेसम्म गोली प्रहार नगर्नु भन्ने रहेको जानकारी दिए ।

घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले जानकारी दिए । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् । उनले भिड देखिएपछि मन्त्रीजी किन नरकेकिएको भनेर आश्चर्य लागेको बताएका छन् ।

उनले घटनामा इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे । उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए । उनले मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको बताए । उनले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७