स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर


११ माघ २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७७ /०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो । अख्तियारका अनुसार सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रचलित दरभाउलाई आधार मानेर लागत अनुमान तयार गर्नुपर्ने थियो । तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले श्री लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरे । उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँ मा खरिद विक्री गरेको अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग गरिएको छ ।
बिशेष अदालत काठमाडौंमा दायर आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारी पनि मुख्य कसुरदारहरुलाई सरह सजाय गरी बिगो समेत असुल उपर गर्न माग गरिएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७