सबै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति गठन


१८ माघ २०८०, बिहीबार
airport

काठमाडौं । सरकारले काठमाडौं, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न दिने तयारी अगाडि बढाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययनका निम्ति समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको समिति गठनको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरिएको हो ।

पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गर्न पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानीविज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव, सदस्यसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्य समिति गठन गरिएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनीलाई नै यी तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागिएको हो । गएको पुस २० गते बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट यी तीन विमानस्थलको सञ्चालनमा निजी क्षेत्रलाई भित्र्याउन अवधारणा बनाएर मन्त्रालयमा प्रस्ताव पेस गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७