चिनियाँ कम्पनीलाई मन्त्री ज्वालाको चेतावनी : समयमै काम सक्नु, म्याद थपिंदैन


२२ माघ २०८०, सोमबार
jwala

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (सीएससीईसी) लाई फेरि निर्देशन दिएका छन् । उनले थपिएको समयभित्र काम सम्पन्न नभए अब म्याद नथपिने पनि स्पष्ट पारे ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार, सडक विभागका महानिर्देशक, सांसद र पालिकाका जनप्रतिनिधिसमेतको बैठकमा मन्त्री ज्वालाले अब कुनै कारणले यो परियोजनामा ढिलाइ भएमा सहन नसक्ने चेतावनी पनि दिएका छन् ।

बैठकको संयोजन गरेका सांसद विनोद चौधरीले ठेकेदारले हरेक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुनेगरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे । उनले नारायणगढ–बुटवल सडक तत्काल मर्मत गरी सहजरूपमा गाडी आवतजावत हुने वातावरण बनाउन पनि माग गरेका छन् ।

ठेकेदार कम्पनीका प्रतिनिधिले आउँदो फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजार क्षेत्रमा कालोपत्र गरिसक्ने जानकारी दिएका छन् । पटक–पटक म्याद थपेर नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का सम्झौतालाई आउँदो सेप्टेम्बर महिनासम्म पुर्‍याइएको छ । तर थपिएको यो मितिमा पनि काम सम्पन्न हुने सम्भावना छैन । सडक बेहाल हुँदा स्थानीयवासी र यात्रुले सास्ती व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७