फर्जी हाजिरी जनाई भ्रष्टाचार : तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा


१५ फाल्गुन २०८०, मंगलवार
Akhtiyar

काठमाडौं । सुनसरीको राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले फर्जी हाजिरी जनाई भ्रष्टाचार गरेको आरोपमा विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध मंगलबार विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै आरोपीहरूले विद्यालयमा गयल भएको अवधिको फर्जी हाजिर गरी / गराई भ्रष्टाचार गरेको ठहर हुन आएकाले मुद्दा दायर गरेको जनाएका छन् ।

शिक्षक बालेश्वरविरुद्ध नेपाल सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमार्फत् प्रदान गरिने चिकित्सक शिक्षा अध्ययन छात्रवृत्तिअन्तर्गत हेल्थ असिस्टेन्ट विषयको खुल्ला कोटाअन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको उजुरी परेको थियो ।

उजुरीका आधारमा अनुसन्धान हुँदा शिक्षक यादवले आफू न्यूरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहँदाको ९१ दिनको फर्जी हाजिर जनाई तथा ४७ दिन गयल समेत भई तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानि पुर्‍याइ १ लाख ३० हजार ८०० रुपैयाँ तलब भत्ताको रूपमा गैरकानूनी लाभ लिएको हुँदा उनीहरूमाथि हदैसम्मको कैद तथा बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गरिएको छ ।

प्रधानाध्यापक धनीलालले पदको जिम्मेवारीमा रहँदा न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये २०७५ असोजदेखि २०७६ फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि ३७ दिनको ६४ हजार ९०० रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको छ ।

प्रधानाध्यापक भोलीले आफू जिम्मेवारीमा रहँदा न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा ३४ दिन फर्जी हाजिरी गराई ३३ हजार ६१८ रुपैयाँ तलब भत्ता लिएको खुलेको छ । अर्का प्रधानाध्यापक विरेन्द्रले पनि हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा २२ दिनको फर्जी हाजिरी गराएको र गयल भएको १० दिनको गरी ३२ हजार ३२४ रुपैयाँ गैरकानूनी लाभ दिलाई भुक्तानी दिएको पुष्टि हुन आएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७