माछा मार्न जाँदा बेपत्ता मानबहादुरलाई खोज्न भोलि सेतीको ड्याम खोलिने


१६ फाल्गुन २०८०, बुधबार
seti dyam

पोखरा । माछा मार्ने क्रममा एक युवक बेपत्ता भएपछि उनको खोजीका लागि पोखराको सेती नदीको ड्याम खोलिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन १७ गते बिहीबार बिहान ८ बजे सेतीको ड्याम खोल्ने जानकारी गराउँदै उक्त समयमा पानीको बहाव बढ्ने हुँदा सतर्क रहन आग्रह गरेको छ ।

पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने सार्की लामा तामाङ भनिने मानबहादुर तामाङ माछा मार्ने क्रममा फागुन १३ गते साँझदेखि सेती नदीमा बेपत्ता भएका थिए । बेपत्ताको भोलिपल्ट नदीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल समेतको टोलीले खोजतलास गर्दा फेला नपरेकोमा घरपरिवारले सेती नदीको ड्याम खोलेर खोजतलास गर्न अनुरोध गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फागुन १७ गते बिहीबार बिहान ८ बजे डयाम खोलिने भएकोले नदीमा पानीको बहाव बढ्ने हुँदा नदी वरिपरि काम गर्ने मानिसहरु चनाखो रहन तथा किनारमा नजान तथा सो क्षेत्रमा आवातजावत गर्ने मानिस सतर्क हुन आग्रह गरिएको छ । केही महिनाअघि पनि नदीमा बेपत्ता एक जनाको खोजीका लागि यसैगरी ड्याम खोलिएकोमा उनी मृत फेला परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७