ऐलानी जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


१८ फाल्गुन २०८०, शुक्रबार
Akhtiyar

पर्सा । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अर्याल र भटराईसँगै वीरगञ्ज महानगरपालिका–२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहरिएका छन् । कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्‍याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो ।

पर्सा साविक अलौ गाविस–५ को कित्ता नम्बर ९२ को ऐलानी-सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुर्‍याएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७