प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ‘ह्वीप’


२९ फाल्गुन २०८०, मंगलवार
raswapa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘ह्वीप’ जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको भोलि (बुधबार) बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेपछि संसदीय दलको बैठकपश्चात अनिवार्य उपस्थित भएर विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

रास्वपा उपप्रधान एवम् गृहमन्त्रीसहित चार मन्त्रालयसहित सरकारमा छ । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद् सचिवालयमा पत्र आइपुगेको छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आजको कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ ।

अधिकारीले भने, ‘सभामुख ज्यूले २९ गते कार्यव्यवस्था समितिको बैठक बोलाउनु भएको छ । त्यहाँ छलफल हुन्छ । र्यव्यवस्था परामर्श समितिको परामर्शमा सम्भवतः प्रधानमन्त्रीले मागेकै दिन अर्थात् फागुन ३० गते बिहान ११ बजेलाई तोक्नु हुनेछ ।’ प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिएका थिए ।

हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुनः एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन् । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए । दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । मत दिन्नमा एक मत खसेको थियो । यता कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७