लिखित सहमतिको शर्त राखेका माधव नेपालसँग प्रचण्ड र ओलीको छलफल


२९ फाल्गुन २०८०, मंगलवार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तारूढ तीन दलका नेताहरूबीच बालुवाटारमा वार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज (मंगलबार) बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज हुने निर्वाचन र बुधबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट लिने विश्वासको मतलगायत विषयका सन्दर्भमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाबीच नयाँ गठबन्धन बनाउने ८ बुँदे सहमति भएको थियो । त्यसैमा लतारिएर नआउने बताइरहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरूसँग थप सहमति गर्नुपर्ने नयाँ शर्त राख्दै आएका थिए ।

अध्यक्ष नेपालको मागलाई सम्बोधन गर्न मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित छलफल गरिएको हो । एकीकृत समाजवादीको सोमबारको संसदीय दलले लिखित सहमति नगरे राष्ट्रिय सभा र प्रधानमन्त्रीलाई मत दिइरहनु नपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मनाउन छलफलमा बसेका हुन् । उनीहरूबीच के–के विषयमा समझदारी भयो भन्ने सबै सार्वजनिक भएको छैन ।

उनीहरूबीच सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताएका छन् । थप नेताहरू बसेर सहमतिलाई पूर्णता दिने काम भइरहेको उनले बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमले पनि प्रधानमन्त्रीसहितको छलफलमा समझदारी बनेको जानकारी दिएका छन् । यसअघि सत्ता गठबन्धन दलहरूबीच ८ बुँदे सहमति भएकोमा त्यसमा एकीकृत समाजवादी पनि थपिने उनी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७