बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…


९ चैत्र २०८०, शुक्रबार
mahila
सांकेतिक तस्विर

काठमाडौँ । अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् । लोभमा गिरोहसँग बिहे गर्न पुगिन् । नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ ।

पीडितकै छ लाख समेत उनले ठगी गर्न सफल भएका छन् । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मन पर्‍यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्‍याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो । उनले आफन्तहरुबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि रु ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न रु छ लाख लाग्छ भनी पीडितबाट रु छ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिए ।

उनले मिर्गाैलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटक पटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याइएकामा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्नसक्ने जानकारी गराएपश्चात् महिला नेपाल फर्की आएकी थिइन् । त्यसपछि पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७