विपक्षी दलप्रति सभामुखको आक्रोश : संसद भित्र र बाहिर दोहोरो कुरा नहोस्


२ बैशाख २०८१, आईतवार
Devraj 1

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा जनप्रतिनिधिहरूले राखेका आवाजको सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । जनप्रतिनिधिका आवाज सुनेर सम्बोधन गरिए मुलुकमा सुशासन कायम हुने र जनतामा रहेको असन्तुष्टि निवारणमा मद्दत पुग्ने सभामुखको भनाइ थियो ।

आज पनि विपक्षी दलका सांसदहरू सदन अवरुद्ध गर्न उठेपछि सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । कार्य व्यवस्था परामर्श समितिमा भएको समझदारी पालना नगरिएको भन्दै उनले रोष प्रकट गरे । समिति बैठकमा केही कार्यसूची हटाएर जरुरी विषय मात्र सदनमा प्रवेश गराउने सहमति भएको थियो । सोहीअनुसार बैठक अघि बढाउन खोज्दा कांग्रेस, राप्रपा, लोसपाका सांसद उठेका थिए ।

सभामुखले सहमतिको आधारमा अघि बढ्न आग्रह गर्दै गलत परिपाटी नबसाउन ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको अन्तिम दिन आइतबार बसेको संसद् बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूले आगामी दिनमा समझदारीपूर्वक कार्य गर्ने आफूले विश्वास लिएको पनि बताएका छन् ।

‘संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोस पनि व्यक्त हुन्छन् । नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वभाविक रूपमा देखिन्छ,’ सभामुख घिमिरेले भने, ‘संसद्मा अभिव्यक्त जनप्रतिनिधिहरूका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्‍याउँछ ।’

संसद्मा उठ्ने विषयको सम्बोधन भए राम्रो हुने सभामुखको भनाइ छ । ‘संसद्मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन सक्दछ,’ उनले भने । सभामुख घिमिरेले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनहरूभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताए ।

उनले पर्याप्त रूपमा कार्य हुन भने नसकेको बताए । आगामी दिनमा राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयले संसद् अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास आफूलाई रहेको सभामुखको भनाइ थियो । संसद् क्रियाशील र प्रबुद्ध भएमा विधि निर्माणको कार्यमा गुणात्मक सफलता मिल्ने सभामुखको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७