सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी


६ बैशाख २०८१, बिहीबार
jiwan chalaune

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पत्राचारका आधारमा विश्वभरका प्रहरीको संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले डिफ्युजन नोटिसका लागि पत्राचार गरिएको र सोअनुसार जारी भएको जानकारी दिए ।

६० किलो सुन तस्करी प्रकरणमा मुख्य नाइके बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध रहेको खुलेको थियो । चलाउनेलाई यसअघि सीआईबीले पक्राउ गरे पनि छाडेको थियो । सुन तस्करी जाँचबुझ आयोगले समेत चलाउनेलाई पक्राउ गरी सीआईबीले नै छोडेको उल्लेख गरेको थियो ।

त्यसपछि भारतको दिल्लीमा रहेका चलाउनेले शिलापत्रसँग कुरा गर्दै हालका सीआईबी प्रमुख श्याम ज्ञवालीले आफूलाई फसाएको बताएका थिए । उनले आफू निर्दोष रहेको समेत दाबी गरेका थिए । १९ दिनपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धान गर्न सम्पूर्ण प्रतिवेदन सीआईबीलाई जिम्मा लगाएको थियो । त्यसक्रममा भएको अनुसन्धानपछि सीआईबीले यो समूहले थप ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो ।

यस मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलिरहेको छ । पछि सुन तस्करीको थप छानबिन गर्न भन्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको समिति बनाइएको थियो ।

समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै प्रहरीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी हेडक्वाटर सरुवा गरिएको थियो ।

आयोगकै सिफासरपछि सुन तस्कर चिनियाँ नागरिकसँग सम्बन्ध देखिएको भन्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई पक्राउसमेत गरेको थियो । स्वास्थ्य स्थितिका कारण देखाउँदै महरालाई हिरासतमुक्त गरिए पनि उनीमाथि सीआईबीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७