सुदूरपश्चिममा आज सरकार विस्तारको तयारी, नाउपालाई कृषि मन्त्रालय दिने सहमति

मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने


१८ बैशाख २०८१, मंगलवार
tika thapa Ld9doXQ1nT

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज (मंगलबार) थप एक मन्त्री नियुक्त हुँदैछन् । आज बसेको सत्तारूढ दलको बैठकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की प्रदेशसभा सदस्य टीका थापालाई मन्त्री दिने निर्णय गरेको हो ।

उनलाई आजै दिउँसो साढे १ बजे कृषिमन्त्रीको जिम्मेवारी दिएर सपथ गरिने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेशसभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनका अनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमती समेत भएको छ ।

सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । बैठकमा एमालेकातर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशी समेत सहभागी थिए ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएका सोडारीले अरू मन्त्रालय आफैसँग राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७