आयोजनामा सरुवा हुन सडकका हाकिमहरुको दौड


१९ कार्तिक २०७५, सोमबार
surya bhat

काठमाडौं, १९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दरबन्दी स्वीकृत गराउने प्रस्ताव तयार गरेर पठाइसकेको भए पनि मन्त्रिपरिषदबाट पारित भएर आइनसकेका कारण सडक आयोजनाहरुमा सरुवा हुनका लागि सबै सेटिङ मिलाइसकेका सडक विभागका डीईहरु छटपटीमा परेका छन् ।

surya bhat
सूर्य भाट, श्याम खरेल र सुबोधकुमार देवकोटा

सडकमा सधैं आकर्षक आयोजना र डिभिजनमा ठेकेदार र कन्सलट्यान्टसँग घुस खान बानी परेका डीईहरु एकाध महिना सडक विभागमा बस्नुपर्दा पानीविनाको माछाजस्तै भएका छन् । मन्त्रिपरिषदबाट आयोजनाहरु गाभिने र दरबन्दी स्वीकृत भएर नआएका कारण उनीहरुमा छटपटी बढेको हो ।

सडक विभागका डीईहरु अशोक तिवारी, श्याम खरेल, सूर्यबहादुर भाट, कर्णबहादुर रानाभाट, रविन्द्रलाल दास, रमेश पौडेल पुनः अरबौं बजेटका आयोजनामा जान भौतिक मन्त्री रघुवीर महासेठ र नेकपाका शीर्षनेताहरुकोमा धाइरहेका छन् । सडक विभागभित्र यी डीईहरु सबैलाई प्रभावमा पारी सधैं कुस्त बजेट भएका आयोजना वा डिभिजनमा मात्रै बस्ने खुबी भएका भनेर चिनिन्छन् ।
मन्त्रिपरिषदबाट आयोजनाको दरबन्दी स्वीकृत हुन बिलम्ब भएका कारण उनीहरुलाई सकस भएको छ । तर यो पटक उनीहरुको आकर्षक आयोजनामा जाने मनसुवा पूरा हुने संभावना कम छ । भौतिक मन्त्री महासेठ र सचिव मधुसुदन अधिकारी सधैं आकर्षक आयोजनामा बसी तर मार्नेहरुलाई यो पटक मौका दिनु नहुने पक्षमा छन् । यी डीईमध्ये सूर्य भाट मध्यपहाडी पुष्पलाल लोकमार्गको पूर्वमा २ बर्ष र पश्चिम खण्डमा ३ बर्ष आयोजना प्रमुख भएर ब्रंम्हलुट गर्नेमा पर्दछन् । त्यसअघि उनी सुर्खेत र गोरखाको अर्को आकर्षकका रुपमा लिइने छेपेटार सडक आयोजनाको प्रमुख भएर अकूत सम्पत्ति आर्जन गर्नेभित्र पर्दछन् ।
भाटले हुलाकी सडक ताकेका छन् । कर्णबहादुर रानाभाट भक्तपुर, पाल्पा,काठमाडौं डिभिजन–२, धरान–चतरा पश्चिम खण्डलगायतको प्रमुख भएर कुस्त कमाउनेभित्रै पर्दछन् । उनी धरान चतरामै कायम रहने खेलमा छन् । श्याम खरेल काठमाडौं उपत्यका सडक विस्तार आयोजना र हुलाकी राजमार्ग आयोजनामा तर मारेका हुन् । धरान–चतरा सडकलाई मदन भण्डारी मार्ग बनाएपछि त्यसको आयोजना निर्देशनालयको प्रमुख हुने खेलमा खरेल छन् । अशोक तिवारी मदन भण्डारी मार्ग भइसकेपछि योजना कार्यालयको प्रमुख हुने खेलमा छन् ।


मध्यपहाडी लोकमार्ग मर्ज गरी एउटै निर्देशनालय बनाउने निर्णय भइसकेको छ । तर मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी छ । मध्यपहाडी दुवै खण्ड मर्ज भइसकेपछि ५ वटा योजना कार्यालय राख्ने निर्णय भइसकेको छ । पूर्वी खण्डको काभ्रे र पाँचथरमा र पश्चिममा गोर्खा, पर्वत र दैलेखमा योजना कार्यालय रहनेछन् ।

मध्यपहाडी आयोजना मर्ज भइसकेपछि दीपक केसी त्यसको आयोजना निर्देशनालयको प्रमुख हुने दाउमा छन् । उनको सहसचिव बढुवा हुने समय पनि भइसकेको छ ।
बिराटनगर डिभिजनबाट भरतपुर डिभिजनमा सरुवा हुनका लागि मन्त्रीलाई खुसी पारिसकेको भन्दैआएका जितेन्द्र चौधरी त्यहाँ अर्का डीई विनोदकुमार भट्टराई गएपछि दाङ डिभिजन ताकिरहेका छन् । सभामुख कृष्णबहादुर महरालाई भनसुन गरी उनी दाङमा सरुवा हुन खोजिरहेका छन् ।
अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमति दिएपछि भौतिक मन्त्रालयले सडकका आयोजनाको दरबन्दी स्वीकृतिका लागि गत आइतबारको मन्त्रिपरिषदमा पेश गरी पारित गर्ने भनेको थियो । तर आइतबारको मन्त्रिपरिषद बैठकमा पेश भए पनि स्वीकृत भएर आएको छैन । भौतिक मन्त्री महासेठ र सचिव अधिकारी भारतीय प्रधानमन्त्रीको आगमनको तयारीका लागि रेल अवलोकनमा जनकपुरतिरै केन्द्रित भएकाले पनि दरबन्दी स्वीकृतिमा बिलम्ब भएको समाचार छ । आगामी विवाहपन्चमीमा मोदी नेपाल भ्रमणमा आउने कार्यक्रम छ ।
त्यसैगरी, निजामती सेवा ऐन विपरीत गल्छी–स्याफ्रुबेसी सडक आयोजनाको प्रमुख भएका सुबोधकुमार देवकोटाको पनि सरुवा हुने भएको छ । ट्रृेड युनियनको नेता कार्यालय प्रमुख हुन ऐनले रोक लगाए पनि उनी यसअघि सहीदमार्ग आयोजना रोल्पा र हाल गल्छी–स्याफ्रुबेसी आयोजना प्रमुख छन् । जुन ४ अर्ब रुपैयाँको प्रोजेक्ट हो । देवकोटा आधिकारिक ट्रेड युनियनका महासचिव हुन् । ९ महिनाअघिसम्म उनी नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघका अध्यक्ष थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७