देश छाडेर जसले बिताए दिन


२३ माघ २०७५, बुधबार
madhav sundar

काठमाडौं, २३ माघ । देशमा सप्रिएर कोही विदेशमा बिग्रिएका पाइन्छन् । कोही देशमा बर्बाद भएर विदेशमा तंग्रिएका पनि भेटिन्छन् ।

madhav sundar

कोही चार महिना भुइँ पुछेर चौध महिनामा करोडपति भएका छन् । यस्तैमध्येका हुन्, पूर्व प्रम लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनको सहयोग पाएका नेपाली सेनाका महासेनानी माधवसुन्दर खड्का । भुपेन नेपालमा छँदा सिनेमाको हिरो थिए । यी दुईभाइले अमेरिका बसाइ क्रममा एउटा स्टोर चलाए ।

गत हप्ता जनवरी २९ मा आफ्नो पसलबाट चिठ्ठा बेच्दाबेच्दै सपना देखेझैं एकाएक करोडपति भई दिए । उनीहरुले बेचेको चिठ्ठा जोए काउच नामक व्यक्तिले किन्दा ११ करोड हात लाग्यो । त्यसमा साढे सात करोड चिठ्ठा पर्नेले पाए । चिठ्ठा बेच्नेको भागमा २५ प्रतिशत रकम आउने भएपछि भूपेन र माधवले बाँकी रकम हात पारेका हुन् ।

दिउँसो महेश सिंह, रामकृष्ण ढकाल, विकास राणासँग तासमा रमाउने अनि राति प्रवासबाट आएकी अभिनेत्री र एआइजी पत्नीसँग पालो फेरिफेरि बिताउने माधव फास्ट ट्रयाकको नीति लागू भएपछि एकतारे जर्नेल बन्ने सम्भावनालाई सधैंका लागि तिलाञ्जली दिंदै २८ वर्षे जागिरे जीवन र फूल कर्णेलको फुली बुझाएर अमेरिका पुगेका हुन् ।

विदेश पुगेका माधवहरूले भौतिक रुपमा धेरै पैसा, सुख शयलको जीवन त बिताउँलान्, तर नेपालको माया, घर परिवार र साथी–संगातिको अभावमा छट्पटाउनुपर्ने अवस्था छ । द्वन्द्व, फाष्ट ट्य्राक, कार्वाही, निराशा, अभावलगायत अनेकन परिस्थितिको शिकार भएर क्याप्टेन, मेजर हुँदै न्युयोर्कको व्यस्त शहरमा ट्याक्सी चलाउन पुग्नेमा प्रज्वल बस्नेत, विश्व शाह, राजेश बस्नेत, प्रफुल्ल राणा, राजेश गुरुङ, अरुण थापा, नारायण रायमाझी छन् । त्यस्तै, युवा अधिकृत आमोद कार्की अष्ट्रेलिया पलायन भएका छन् ।

शान्ति सेना निर्देशक रहिसकेका १० बेसिकका श्यामबहादुर थापा मगर, विजयध्वज कार्की, बेनी आक्रमणका कमाण्डर राजु नेपाली पनि अमेरिकाको बाल्टिमोरदेखि विभिन्न शहरमा गुमनाम जिन्दगी बिताइरहेका छन् । महासेनानी गोविन्द गुरुङ रक्षामन्त्री ईश्वर पोखरेलको गृह जिल्ला ओखलढुंगाका बासिन्दा हुन् । पाइलट थिए ।

न्युह्याम्पसायर शहरमा सुस्त मनस्थितिका बिरामीहरुको हेरचाहमा मासिक १२ हजार डलर तलब खाएर काम गरिरहेका छन् । तीन वर्ष नेपाल सरकारको प्रतिनिधित्व गर्दै न्युयोर्कमा बसिसकेका विष्णुरुद्र शर्मा २० बेसिकका हुन्, जसलाई भविष्यका प्रधानसेनापतिको रुपमा हेर्ने गरिन्थ्यो । रुक्माङ्द कट्वाल प्रधानसेनापति भएको बेला राजीनामा दिन नपाइने अवस्थामै जागिर छाडेर हिंडे ।

अहिले राष्ट्रसंघीय सेवाअन्तर्गत सुडानमा जागिर खाइरहेका छन् । तीनतारे जर्नेलसम्म हुने सम्भावना भएका विजय थापाले सैनिक सेवा त्यागेर संयुक्त राष्ट्रसंघमा पि–फाइभ तहको जागिर शुरु गरेका छन् । अर्का काविल अफिसर धीरेन गुरुङ पनि सुडानमै छन् । राष्ट्रिय अनुसन्धान विभागको प्रमुख हुने लाइनका जयबहादुर खड्काले त्यस्तै गरे । उनी सशस्त्र द्वन्द्वताका ‘अप्रेसन मुस्ताङ’ मा सरिक थिए ।

माओवादी शान्तिप्रक्रियामा आएपछि त्यही जिम्मेवारीको निहुँमा आफूलाई फसाइन्छ भन्ने शंकै शंकामा जागिर छाडे । पत्नी पहिल्यै डिभी परेर अमेरिका गएकी थिइन्, उनी पनि त्यतै लागे । दुर्गाबहादुर कुँवर सशस्त्र प्रहरी बलको भावी महानिरीक्षकका रुपमा हेरिन्थे । तर, डिआइजीकै दर्जाबाट राजीनामा लेखेर अमेरिका छिरे । सबुज गणको ठूलो आर्थिक काण्डमा परेर जागिर छाडेका रामेश्वर सुवेदी कतारमा छन् ।

सुरक्षाविज्ञका रुपमा राम्रो आम्दानी गरेर बसेका सुधीर महरा अमेरिकाको भर्जिनियातिर बस्छन् । अरुलाई आकाशमा उडिरहेको हेलिकोप्टरबाट जमिनतिर फाल्दै प्यारासुट तालिम दिने भैरवनाथ गणका खुंखार अफिसरहरु प्रज्ज्वल र राजु बस्नेतहरु मेजरमै जागिरबाट हात धोई अमेरिका पलायन भएका हुन् ।

राजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका एडिसी, जो ड्युटीमा पेस्तोल हराएर विवादमा आएका थिए, महेश चन्द, अमेरिकाकै टेक्सासमा बस्छन् । डिभी परेर जानेमा प्रमुख सेनानी शम्भु गुरुङ, मेजर रामचन्द्र गुरुङ पनि छन् ।

३० बेसिकमा प्रथम हुने विकास अधिकारी र पूर्वराजा ज्ञानेन्द्रकी जेठी दिदी शान्ति सिंहका छोरा क्याप्टेन प्रमोदबहादुर सिंह अष्ट्रेलिया पुगेका छन् भने बर्दबहादुर गणका नरेश पाल, दीपेन्द्रसिंह थापा, प्रधानसेनापति पूर्णचन्द्र थापाको साँढूभाइ प्रसे महेश केसी, २६ बेसिकका अर्जुन सिंह, २३ का राजु खड्का, छत्रमान सिंहको कोपभाजनमा परी वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीका भाइ विजयप्रकाश (अमेरिका), सन् २००६ मा कंगो मिसनबाट वृद्धा ब्रिटिश महिलाको प्रेममा परी सेनानी बमबहादुर मल्ल लण्डन पसेका छन् । ३० बेसिकका सुशील सिजापति (अष्ट्रिया), २५ का अर्का राजु खड्का (सुडान), २९ का श्रीधर कँडेल (अमेरिका) नेपाल छाड्ने अन्य चर्चित सैनिक अधिकृत हुन् ।

२८ बेसिकका मोहन प्रसाईं, मंगलबहादुर सिंह, रवीन जोशी, अमेरिकामा छन् । ८ बेसिकका प्रदीपजंग थापा पनि अमेरिकामै छन् । फास्ट ट्रयाकमा कर्णेल हुन नसकेर प्रवीन थापा, २७ बेसिकका प्रमोद राणा, २० का पुरुषोत्तमविक्रम केसी, ३५ बेसिकका सतिशकाजी डोटेल, ३२ बेसिकका नरेश थापा, ३० बेसिकका प्रभातमान प्रधान पनि उतै छन् ।

हालैमात्र फास्टट्रयाकमा बढुवा नभएपछि राजीनामा दिएका स्याण्डहस्र्ट युके ट्रेण्ड क्याडेट लेफ्टिनेन्ट कर्णेल खनामुन्ना राई क्यानाडा भास्सिएका छन् भने २६ बेसिकका राजकुमार बस्नेत र ८ बेसिकका राजुध्वज सिलवाल चाहिँ अमेरिकामा आप्रवासी जीवन बिताइरहेका छन् ।

यहाँहरुलाई जिज्ञासा होला, युवराज दीपेन्द्रको एडिसी रहेका राजु कार्की कता गए होलान् ? ज्ञानेन्द्र राजा भएपछि जागिरबाट बर्खास्त भएका उनी देवयानीले खोलेको बेलायतस्थित एक कम्पनीमा म्यानेजर पोष्टको जागिर खाएर जिन्दगी बिताइरहेका छन् ।

उता, अमेरिकामा एकाएक करोडपति बनेका भूपेन लोकेन्द्रका दुई पत्नीमध्ये कान्छीतिरका कान्छा सन्तान हुन् । देउवा सरकारका मन्त्री जयन्त उनका दाजु हुन् भने जेठीतिरबाट अरुण र विनोद जन्मिएका छन् । भूपेन १८ वर्षको उमेरमा पाइलट कोर्ष गर्न अमेरिका गएका थिए । फर्किएर केही समय जागिर खाए । त्यसपछि तुलसी घिमिरेको सिनेमा खेले । तीनतारे जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृतसँग विवाह गरे ।

तर, सम्बन्धबिच्छेद गरेर हिरोइन सौजन्य सुब्बालाई अंगाली अमेरिका उडे । जेठी पत्नीबाट आठ वर्षकी छोरी छन् । भूपेनलाई पछ्याउँदै गएकाले माधवसुन्दर शुरुमा पाकिस्तानीको एक ग्याँस स्टेशनमा भुईं पुछ्ने काम गरेर चार महिना बिताए । ससुराली नातामार्फत् सुधीर बस्नेतको हाउजिङमा लगानी गर्दा चार करोड डुबाए । जागिर कति लोभलाग्दो भने, आफ्नो बेसिकका थर्डम्यान । रसिक स्वभाव । छोटकरी नाम ‘मासुख’ माधवसुन्दर खड्का ।

बढुवा पाएको तीन महिनामा जागिर र देश सब छाडे । अहिले अमेरिकाको पेन्सिलभानियातिर बस्छन् । भूपेनका भिनाजु मेजर जनरल छन्, सुवर्णबहादुर शाह । अर्थात्, लोकेन्द्रबहादुरका छोरीज्वाइँ । अर्का भिनाजु प्रवलसमशेर राणा नेपाल प्रहरीका एसएसपी थिए, आइजीपी भएका उपेन्द्रकान्त अर्यालका ब्याची । एउटा भोजमा गएको बेला हर्टअट्याक भएर देहान्त भयो । दशैंमा टीका लगाउन जाँदा टेक्ससमा ब्रेनह्यामरेज भएपछि भूपेनले आमालाई भर्खरै नेपालको अस्पतालमा छाडेर अमेरिका फर्किएका छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७