ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ?

जर्मनका तानाशाह एडोल्फ हिटलरले कुनै बेला भनेका थिए, ‘यदि मसँग गोर्खाहरु हुन्थे भने मलाई संसारका कुनै पनि सेनाले पराजित गर्न सक्ने छैनन् ।’ गोर्खाहरुकै शक्तिको आडमा संसारभरी आफ्नो उपनिवेश विस्तार गरेको बेलायतका प्रिन्स चाल्र्सले भनेका छन्, ‘संसारमा यस्तो एउटा मात्र ठाउँ छ, जो सुरक्षित छ, जहाँ गोर्खाहरु छन् ।’ संसार जतिबेला युद्धको होडमा थियो । जतिबेला शासकहरुले हतियारबन्द बहादुर सेना नै आफ्नो तागत ठान्थे । त्यतिबेला गोर्खा सैनिक अर्थात् बेलायती सेनामा भर्ती भएका नेपाली युवाहरुको बारेमा मिथक जस्तै लाग्ने अनेक वीरताको बयान हुन्थ्यो । दुनियाँका शक्तिशाली शासकहरुले गोर्खालीको प्रशंसा गर्थे । पहिलो र दोस्रो विश्वयुद्धपछि भएका अनेकौं युद्धहरुमा गोर्खा कसैको लागि आर्दश थियो त, कसैका लागि भय र आंतकको नाम थियो । सन् १९६५ मा भारतको नाथुलामा गोर्खाहरुको सामना गरेपछि एक चिनियाँ सैन्य अधिकृतले भनेका थिए, ‘गोर्खाहरु युद्ध मैदानका लागि घना जङ्गलको बाघ जस्तै हो । बाघ जस्तै लड्दा रहेछन् ।’

याे पनि पढ्नुहाेस्

गोर्खालाई आवासीय भिसाः ब्रिटिस ब्रम्हलुटको नयाँ ‘परियोजना’
फकल्यान्ड युद्धमा गोर्खाली
गोर्खा सैनिकको सुरक्षामा ट्रम्प–किम सिङ्गापुरमा
गोरखा सैनिकका छोरा गृहमन्त्री 

 

युद्धको समयमा चर्चा हुने गोर्खाहरु फेरि पनि एक चर्चामा छ । शक्तिको बलमा संसारलाई आफ्नो काबुमा राख्न उद्दत देश अमेरिकाका सनकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकालाई चुनौती दिइरहेका उत्तर कोरियाका नेता किम जोङ अनको सुरक्षाले गोर्खाहरु फेरि पनि चर्चित भएका हुन् । भोलि अर्थात् ११ जुन २०१८ मा सिङ्गापुरमा बहु–प्रतिक्षित शिखरवार्ताका लागि ट्रम र किम सिङ्गापुर पुगिसकेका छन् । उनीहरुको सुरक्षाको जिम्मा पाएको छ, सिङ्गापुर पुलिस अर्थात् गोर्खालीहरुको । सिङ्गापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के. सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ विशेष दस्ताका रूपमा गोर्खा रहेको जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ट्रम र किम शिखर वार्तासँगै गोर्खाहरुको बारेमा महत्वका साथ समाचार दिएको छ । बिबिसी, वासिङटन पोष्ट, डेलिमेल, टेलिग्राफ, एपी, रोयर्टसलगायतका अनेकौं अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा एजेन्सीहरुले गोर्खाहरुको बखान गरिरहेका छन् ।

को हुन् सिङ्गापुर गोर्खा ?


नेपाल र ब्रिटिस–इण्डियाबीच सन् १८१४–१६ मा भएको युद्धमा नेपाल पराजित भयो । तर, युद्धमा गोर्खाली सेनाले देखाएको युद्ध कौशलबाट अंग्रेजहरु प्रभावित भए । गोर्खालीहरुको युद्ध कौशल देखेर अंग्रेज युद्ध कमाण्डर जनरल अक्टरलोनीले भने, ‘हामीले यस्तो चुस्तता र बहादुरीपूर्ण प्रदर्शन जीवनमा कहिल्यै देखेनौं ।’ उतिबेला अन्यायपूर्ण युद्धको बलमा संसारभरी साम्राज्य विस्तार गरिरहेको बेलायती साम्राज्यका युद्धका कमाण्डरहरुले युद्धपछि निष्कर्ष निकाले, ‘यस्ता बहादुर लडाका गोर्खालीहरुलाई शत्रुको पंक्तिमा राख्नुभन्दा आफ्नो सेनामा सम्मिलित गराई मित्र बनाउनु धेरै लाभप्रद हुनेछ ।’

अक्टरलोनी यस्ता धु्रर्त कमाण्डर थिए, जसले नेपाल दरबारका कमी–कमजोरी राम्रोसँग पहिचान गरी अनेक दाउपेच खेले । युद्धका योजना बनाए । नेपालविरुद्ध खोलिएका पाँच वटा ब्रिटिस युद्ध मोर्चामध्ये अक्टरलोनीले नेतृत्व गरेको मोर्चा मात्र सफल भयो । अक्टरलोनी त्यही युद्ध कमाण्डर थिए, जसको कारणले सन् १८१४–१६ मा नेपाली युद्ध कमाण्डर अमरसिंह थापालाई हायल–कायल पारे र नेपाल–अंग्रेज युद्धले नयाँँ मोड लियो । उनै अक्टरलोनीले ब्रिटिस–इण्डिया कम्पनीसँग गोर्खा बटालियन गठनको प्रस्ताव गरे । बंगालका तत्कालीन गभर्नर जनरल लिर्ड मोइराले स्वीकृतिको लागि कम्पनी सरकारका डाइरेक्टरसामु प्रस्तुत गरे । १८१५ अप्रिल २४ का दिन गोर्खा पल्टन गठनको स्वीकृति तथा आदेश पठाइयो । झण्डै एक महिनापछि पश्चिम क्षेत्रको युद्धमा कमाण्डर अमरसिंह थापाले आत्मसमर्पण गरेपछि दुबै देशका सेनाध्यक्षबीच सहमतिपत्रमा हस्ताक्षर भयो । त्यही सहमतिपत्रले अंग्रेजहरुका लागि गोर्खालीहरुलाई सेनामा भर्ती गर्ने बाटो खुल्यो । वैधानिक रुपमै बाटो खुलेपछि सन् १८१५ मै जनरल अक्टरलोनीले फस्ट नसुरी बटालियन, सेकेण्ड नसुरी बटालियन र सिरमुर बटालियन खडा गरे । शुरुमा कुमाउनी, गढवाली तथा कालीपारीका अन्य पहाडे जातिलाई समेटेर खडा गरिएको फौजलाई नै गोर्खा भनिए पनि मलाउको किल्ला ढलेपछि युद्धबन्दी बनाइएका वास्तविक गोर्खाहरू पनि यी बटालियनमा समावेश गरिए । पहिलो पटक युद्धबन्दीबाट झण्डै १५०० गोर्खालीहरू अंग्रेज पल्टनमा भर्ती भएका थिए । यसपछि ब्रिटिस–इण्डिया कम्पनीले नेपाली युवाहरु गोर्खा सैनिकको नाममा क्रमशः भर्ना गर्न शुरु ग¥यो ।

यसरी गोर्खा भर्ती शुरु गरेको ब्रिटिसले संसारभरी आफ्नो साम्राज्य विस्तार गरे । यही क्रममा २२४ वर्गमाइल क्षेत्रफल भएको मलाया प्रायद्धीपको सानो टापु अर्थात् सिङ्गापुरलाई पनि उपनिवेश बनाइयो । ई. १९६३ मा यो सानो टापु मलेसियाको संघभित्रै परेको थियो । तर, ई.१९६५ मा यो अलग टापुको रुपमा अस्तित्वमा आयो । सिङ्गापुरको स्वतन्त्र अस्तित्व कायम भएसँगै यसको सुरक्षा गोर्खालीहरुले गरे । १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भएपछि ब्रिटिसले सुदूर पूर्वतिर लगेको गोर्खाहरुको ८ बटालियनमध्ये झण्डै आधा सेना यही टापुमा राखेको थियो । हङकङमा हेडक्वाटर भएको ब्रिगेड अफ गोर्खाजको ‘गुर्खा कन्टिन्जेन्ट’ सिङ्गापुरमा थियो । ‘गुर्खा कन्टिन्जेन्ट’ मा रहेका गोर्खालीहरुको जिम्मेवारी उच्च पदस्थहरुको सुरक्षा थियो । १९७८ मा कैदीहरुको सुरक्षा गर्ने जिम्मेदारी पनि थपियो । कैदीहरुको सुरक्षा गर्ने टिमको नामलाई ‘प्रिजन गुर्खा युनिट’ को नाम दिइयो । ई.१९८१ पछि ‘प्रिजन गुर्खा युनिट’ लाई पनि फेरि ‘गुर्खा कन्टिन्जेन्ट’ मा गाभियो । ब्रिटिस सैन्य अधिकृत अन्र्तगत ‘गुर्खा कन्टिन्जेन्ट’ राखिएको थियो । ‘गुर्खा कन्टिन्जेन्ट’ मा गोर्खा चीफ इन्सपेक्टर मातहत २० इन्स्पेक्टरसहित एक हजार भन्दा बढी गोर्खाहरु राखिएको थियो । हाल यसको संख्या करीब तीन हजार रहेको छ । अहिले हरेक बर्ष नेपालबाट सिङ्गापुर प्रहरीको लागि आवेदन आह्वान गरेर भर्ना गरिन्छ । ‘गुर्खा कन्टिन्जेन्ट’ को कार्यालय नेपालमा पनि रहेको छ । ललितपुरस्थित मानभवनमा रहेको ब्रिटिस गोर्खा हेडक्वाटरमै सिङ्गापुर प्रहरीको कार्यालय रहेको छ । नेपालमा एक जना इन्सपेक्टरसहित करीब एक दर्जन गोर्खाहरुको दरबन्दी रहेको छ । सिङ्गापुरको आफ्नै सैनिक छैन, उसको सुरक्षा प्रहरीले नै गर्छ । तर, सिङ्गापुर नेपाली युवाहरुलाई आफ्नो प्रहरीमा भर्ना गरे बापत नेपालप्रति आभारी छैनन् अथवा भनौं नेपालसँग उसको सरोकार नै छैन । उ आजसम्म पनि ब्रिटिसप्रति आभारी छ । किनभने त्यसको हिसाब–किताब आजसम्म ब्रिटिससँग नै छ । यसको सबै भर्ना प्रक्रिया ब्रिटिसले नै गर्छ । हरेक बर्ष पोखरामा रहेको ब्रिटिस क्याम्पमा भर्ना गरिन्छ ।

सिङ्गापुर गोर्खाबाट अवकाश प्राप्त एक जना भूपू तथा गोर्खाहरुको संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सदस्य नौराज राईका अनुसार हरेक बर्ष पोखरामा छनोट आह्वान गरिन्छ । त्यहाँ भर्नाका लागि गएका युवाहरुलाई एउटा छनोट दिइन्छ, ‘ब्रिटिस सेनामा जाने की सिङ्गापुर प्रहरीमा ?’ सिङ्गापुर प्रहरी रोजेकाहरु सिङ्गापुर जान्छन् । बर्षमा करीब २ सय सिङ्गापुर प्रहरीमा गोर्खाहरु भर्ना हुन्छन् । तिनै गोर्खाहरुले सुरक्षा दिइरहेको सिङ्गापुर टापु संसारकै सुरक्षित टापु मानिन्छ । तर, बिडम्बना ती गोर्खाहरुको भर्नादेखि सबै प्रक्रिया ब्रिटिसले गर्छ । नेपाली युवा आफ्नो देशमा लैजानका लागि सिङ्गापुरले ब्रिटिससँग सम्झौता गरेको छ । नेपाल सरकारसँग उसको कुनै चासो नै छैन । सिङ्गापुर गोर्खामा कार्यरत तथा भूतपूर्व प्रहरीहरु नेपालले सिङ्गापुरसँग सिधै सम्झौता गरोस् भन्ने चाहन्छ । यसका लागि गेसोले अभियान पनि नचलाएको होइन तर, सरकारले पहल गरेको छैन । ब्रिटिसमार्फत जाँदा कतिपय सेबा सुबिधामा समेत कम भएको उनीहरुको बुझाई ।

यहाँनिर सुबिधाको पाटो एकातिर होला, तर महत्वपूर्ण पाटो भनेको एउटा स्वतन्त्र देशको बिषय पनि हो । हाम्रा युवाहरु आफ्नो सेनामा भर्ना गर्न सिङ्गापुरले ब्रिटिससँग किन सम्झौता गर्नुपर्ने ? हाम्रो युवाहरु ब्रिटिसले सिङ्गापुरलाई दिएर कहिलेसम्म नाफा खाइरहने ? सिङ्गापुरमा हाम्रा युवाहरु भर्ना हुनु हुदैन भन्ने होइन तर त्यहाँ भर्ना गर्नका लागि सिङ्गापुर सरकारले नेपालसँग सिधै सम्झौता गर्नुपर्ने होइन ? ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ?

 

प्रतिक्रिया दिनुहोस्