एक खर्ब १६ अर्ब रुपैयाँमा काठमाडौं चक्रपथमा ‘मोनो रेल’, यस्तो छ सीआरसीसीको अध्ययन्


२८ भाद्र २०७५, बिहीबार
Ktm MOnorail

काठमाडौं, २८ भदौ । एक खर्ब १६ अर्ब रुपैयाँ लागतमा काठमाडौंमा ‘मोनो रेल’ सञ्चालन हुने भएको छ ।

Ktm MOnorail

काठमाडौंको चक्रपथमा मोनोरेल चलाउन चीनको सीआरसीसी कम्पनीसँग काठमाडौं र ललितपुर महानगरपालिकाबीच सहमति हुने भएको छ । सो कम्पनीले यी दुई महानगरपालिकासँग जेठ ११ गते प्रारम्भिक अध्ययनका लागि सम्झौता गरेको थियो ।

६ महिनाभित्र प्रारम्भिक अध्ययन् तयार गरिसक्ने बताएको सीआरसीसीले ३ प्रारम्भिक अध्ययन सकेर प्रतिवेदन बुझाइसकेको उक्त आयोजनाका नेपाल निर्देशक इन्जिनियर नवीन पोखरेलले जानकारी दिएका छन् ।

प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि दुवै महानगरपालिकाका इन्जिनियर, नेपाल सरकारका पदाधिकारी र मोनोरेल विज्ञहरुसँग थप छलफल गरी अबको एक महिनामा उक्त कम्पनीलाई आवश्यक पूर्वाधारसहित मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन स्वीकृति दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी गराए ।

प्रारम्भिक अध्ययन प्रतिवेदले मोनोरेल सञ्चालनका लागि ११६ बिलियन (एक खर्ब १६ अर्ब रुपैयाँ) लागत देखाएको छ । इपीसीएफ मोडलबाट सञ्चालन हुने मोनोरेल २ वा ५ वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सीआरसीसीले सञ्चालन गर्नेछ । यस अवधिमा यी दुई महानगरपालिकाले कम्पनीलाई वार्षिक रुपमा निश्चित रकम बुझाउने छन् ।

यस अवधिमा नेपालमै पहिलो पटक सञ्चालन हुने मोनोरेल सञ्चालनबारे प्राविधिक जानकारी र ज्ञान उक्त कम्पनीले नेपाल सरकारका कर्मचारीलाई हस्तान्तरण गराउनेमा पहिलो चरणको छलफल भएको इन्जिनियर पोखरेलले जानकारी दिए ।

चक्रपथको सडकमाथिको कुल २७.५ किलो मिटरमा २१ स्थानमा यात्रु चढाउने, ओराल्ने स्टेशन रहने गरी मोनोरेल सञ्चालन हुनेछ । जसलाई कोटेश्वर–कलङ्की, कलङ्की–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा निर्माण गरिने छ ।

‘हाल ८ लेनको चक्रपथ विस्तारको क्रममा गौशाला–चावहिल सडक खण्डमा सडक विस्तार गर्न केही समस्या रहेको देखिएकाले विवाद नभएका स्थानमा मोनोरेलको पूर्वाधार निर्माण अगाडि बढाउन सकिने देखिन्छ’, इन्जिनियर पोखरेल भन्छन् ।

‘स्वीकृति पाएको ३ देखि ६ महिनाभित्रमा डीपीआर तयार हुन्छ’, बिहीबार काठमाडौंमा कम्पनीले तयार गरेको प्रतिवेदन दुई नगरपालिकालाई बुझाउने क्रममा इन्जिनियर पोखरेलले भने, ‘मोनोरेल सञ्चालनको प्रारम्भिक अध्ययनले भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिक रुपमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न सकिने देखाएको छ ।

कम्पनीको प्रस्तावलाई दुवै महानगरपालिका प्रमुखबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।’ कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अबको ३ वर्षभित्रै चक्रपथमा मोनोरेल सञ्चालन हुने दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७