आदिवासी जनजातिद्वारा आन्दोलनको घोषणा


२५ मंसिर २०७५, मंगलवार
NEFIIN

काठमाडौं, मंसिर २५ :  नेपाल आदिवासी जनजाति महासंघले आफूहरूको साँस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

NEFIIN

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साँस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

आफूहरूको पहिचानको रूपमा रहेको साँस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दबाब आन्दोलन सुरू गर्नुपरेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए।

महासंघले आदिवासी जनजातिहरूको साँस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाब दिँदै आइरहेको छ।

महासंघले सो विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

कार्यक्रम अनुसार मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत् पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेका छन्।

त्यसैगरी महासंघले पुस १ गते नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउनेछ।

पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले बताए।

महासंघले पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएर पनि आफूहरूको साँस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दिबाब दिनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७