ट्रक ठोक्किएर अरुण खोलापुलमा क्षति, राजमार्ग अवरुद्ध


२९ श्रावण २०७६, बुधबार
accident

नवलपरासी, २९ साउन । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोलामा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

ट्रक समेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बस समेत रोकिएका छन् ।

प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७