१८ सय प्रहरीलाई कार्वाही, कुन तहका कति ?

२४९ जनालाई नोकरीबाट हटाइयो, सात जना बर्खास्त


२९ भाद्र २०७६, आईतवार
Nepal police

काठमाडौं, २९ भदौं । नेपाल प्रहरीले प्रहरी अनुशासनको पालना नगर्ने प्रहरी जवानदेखि अधिकृतसम्मकालाई कार्वाही गरेको छ ।

गएको आर्थिक वर्ष २०७५–०७६ मा प्रहरी जवानदेखि अधिकृतसम्मका १८ सय जनालाई कार्वाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्वाही अनुसार २४९ जनालाई नोकरीबाट हटाइएको र सात जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्र्यालयले जानकारी दिएको छ ।

नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिंदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिन्छन् ।

नोकरीबाट हटाइएका अधिकृतमा एक जना प्रहरी उपरीक्षक पनि छन् । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाट हटाइएको थियो ।

यही अवधिमा दुई जना प्रहरी निरीक्षकको पनि जागिर गएको छ भने ५ जना प्रहरी नायब निरीक्षक, ११ जना प्रहरी सहायक निरीक्षक, २४ जना प्रहरी हवल्दार र १ सय ९५ जना प्रहरी जवान सेवाबाट हटाइएका छन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार यो अवधिमा ११ जना प्रकास पनि कारबाहीमा परेका छन् । प्रकास प्रहरी जवानपछिको पद हो ।

बर्खास्तीमा पर्नेमा एक जना प्रहरी सहायक निरीक्षक, दुई–दुई जना प्रहरी हवल्दार र जवानसहित ११ जना प्रकाश छन् । यो अवधिमा प्रहरी प्रधान कार्यालयले १०५ सय ४४ जनालाई विभागीय कार्बाही गरेको छ । विभागीय कार्बाही भोग्नेमा सबैभन्दा बढी प्रहरी जवान ९८६ जना छन् । प्रहरी हवल्दारतर्फ ३३३ जना विभागीय कार्बाहीमा परेका छन् भने दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले पनि कार्बाही पाएका छन् ।

विभागीय कार्बाही पाउनेमा दुई–दुई जना एसपी र डीएसपी (प्रहरी नायब उपरीक्षक) छन् । विभागीय कार्बाहीमा नसिहत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बनलगायत पर्छ । प्रहरी प्रधान कार्यालयका अधिकृतहरु गलत कार्य गर्नेविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने संगठनले नीति लिएर कार्बाही संख्या बढेको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७