सन्दीपको टोली बार्बाडोजले हात पार्‍यो सीपीएल उपाधि


२६ आश्विन २०७६, आईतवार
cpl sandeep

ट्रिनिड्राड, २६ असोज । क्याराबिन प्रिमियर लिग (सीपीएल) को यस सिजनको उपाधि नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले हात पारेको छ ।

शनिबार राति (नेपाली समय आइतबार बिहान) भएको खेलमा बार्बाडोजले गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै उपाधि हात पारेको हो ।

ट्रिनिड्राडको ब्रेन लारा रंगशालामा भएको खेलमा बार्बाडोजले टस टस जितेर पहिले ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पछ्याएको गुएना अमेजनले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको बार्बाडोजका लागि ७औं नम्बरमा ब्याटिङमा आएका जोनाथन कार्टरले २७ बलमा ५० रन बनाई टोलीमा लागि महत्वपूर्ण योगदान गरे । ओपनर जोनसन चाल्र्सले ३९ रन र एलेक्स हलेजले २८ रन बनाए । बार्बाडोजको जितका लागि रेमन रेफर एक्लैले गुएनाको ४ विकेट लिए ।

गुएना अमेजनका ब्रेन्डन किंगले सर्वा्धिक ४३ रन बनाए । किमो पउलले २५ र निकोलस पुरनले २४ रन जोडे । सीपीएल यस सिजनको सबै खेलमा अपराजित रहेको गुएना अमेजन फाइनलमा पराजित भएको हो ।

समूह चरणका १० खेलमा ५ मा हार र ५ मा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्बाजोड पहिलो क्यालिफयरमा गुएनासँग ३० रनले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता ट्रिबागो नाइट राइडर्सलाई १२ रनले हराउँदै बार्बाडोज फाइनलमा पुगेको हो ।

यस सिजनको ६ खेल खेलेका सन्दीपले ८ विकेट लिए । सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन् ।
सन्दीपले खेलेका विदेशी लिगमा सन्दीप आवद्ध टोलीले उपाधि जितेको यो पहिलो पटक हो । यसअघि गतसाल अस्ट्रेलियाको बिगवासमा सन्दीपको टोली मेलवर्न स्टार्स फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७