‘विद्या भट्टराईको उम्मेदवारीले राजनीतिमा महिलालाई ऊर्जा मिलेको छ’


२८ कार्तिक २०७६, बिहीबार
bidhya bhattarai

चिप्लेढुङ्गा, २८ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी –नेकपा)का केन्द्रीय सदस्य सीता गिरीले कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताएकी छिन् ।

पोखरा–७ मा आयोजित चुनावी कार्यक्रममा गिरीले विद्या स्वर्गीय रवीन्द्र अधिकारीपत्नी मात्र नभई महिलानेत्री एवं प्राज्ञिक व्यक्तिसमेत रहेको हुँदा नेपाली राजनीतिमा उनको आगमनले महिलालाई थप ऊर्जा मिलेको स्पष्ट पारिन् ।

चुनावी प्रचारप्रसारको क्रममा बिहीबार पोखरा–७ का मतदाताबीच उम्मेदवार भट्टराईले अधिकारीको अधूरा सपना पूरा गर्न आफू राजनीतिमा होमिएको बताइन् । उनले आरोप प्रत्यारोपको राजनीतिबाट टाढा रहेर आफू स्वच्छ र पारदर्शी राजनीतिमा विश्वास गर्ने बताइन् । आफूलाई मतदाताले गरेको विश्वास र आग्रहलाई स्वीकार्दै अधिकारीको अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएको हो ।

पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत महत्वपूर्ण कार्य पूरा गरेरै छाड्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । उनले समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बासीलाई लालपुर्जा दिलाउने आफ्नो कार्यसूची रहेको बताए । पोखरा–७ मा विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी बस्ती पर्छन् ।

पोखराको नयाँबजारस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आशीर्वाद ग्रहण गर्दै चुनावी प्रचार कार्यक्रम पोखरा–७ मा बिहान प्रगतिनगर, प्रगतिटोल, राधाकृष्ण टोल, घारीपाटन र तीनकुनेलगायत क्षेत्रमा सम्पन्न भएको हो । घरघरबाट निस्केर मतदाताले फूलको गुच्छाले उम्मेदवार भट्टराईको स्वागत गरेका थिए ।

सो क्षेत्रमा उम्मेदवार भट्टराई पुग्दा ८६ वर्षीया कृष्णमाया पराजुलीले वडा नं. ७ र १५ जोड्ने पक्की पुल अधिकारीले शिलान्यास गरेको सम्झिँदै विकासमा जोड दिन आग्रह गरिन् ।

पूर्वमन्त्री एवं नेकपा गण्डकी सहइञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले शहादत गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपङ्क्तिमा रहेको बताए ।

नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७