कोरोना संकट : अमेरिकाका पाँच लाख नेपाली प्रभावित, आर्थिक गतिविधि ठप्प हुँदा कामविहीन

हालसम्म अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु, केहि उपचारमा


१३ चैत्र २०७६, बिहीबार
america 4

काठमाडौं, १३ चैत । कोभिड–१९ को संक्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ ।
कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ ।

हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका छन् ।

अमेरिकामा झण्डै पाँच लाखको संख्यामा गैरआवासीय नेपाली रहेको बताइन्छ । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै अमेरिकामा रहेका धेरै नेपालीको रोजगारी गुमेको छ । खासगरी विद्यार्थी भिसामा रहेकाहरु यसबाट बढी प्रभावित भएका छन् । वैधानिकरूपमा काम गर्न नपाउने भएकाले विद्यार्थीहरु यसबाट बढी प्रभावित भएका हुन् ।

यो समयमा अवैधानिकरूपमा काम गर्दा समस्या हुने अड्कलबाजीले समेत विद्यार्थीहरु भएका काम पनि गर्न त्रसित देखिन्छन् । नगद कारोबार गर्न मिल्ने चिनेजानेका व्यापारी व्यवसायीका पसल तथा रेष्टुरेन्टहरुमा विद्यार्थीहरुले काम गर्ने गर्दछन् ।

अमेरिकाको नागरिकता प्राप्त तथा अमेरिकामा बस्न र काम गर्न अनुमति प्राप्तहरुलाई राहतस्वरूप यहाँको सङ्घीय तथा राज्य सरकारले राहत प्याकेज ल्याउने बताएको छ । निर्णय भइनसके पनि केही राहत दिने अपेक्षा गरिएको तर यो राहत कार्यक्रममा विद्यार्थी भने समावेश हुन सक्ने छैनन् ।

विद्यार्थी मात्र होइन अन्य नेपालीमा समेत यसको असर परेको छ । विभिन्न कम्पन्नीमा काम गर्ने नेपालीहरु कम्पन्नी बन्द भएका कारण कामविहीन बन्न पुगेका छन् । वार्षिक आम्दानीको आधारमा यहाँको सरकारले कम आम्दानी गर्ने सूचीमा राखेका परिवार बढी प्रभावित देखिएका छन् ।

कम आम्दानी गर्ने परिवारको सूचीमा रहेका व्यक्तिहरुले औसतमा प्रतिघण्टा नौदेखि १४ डलरसम्म कमाउने गरेको देखिन्छ । कामदार मात्र होइन व्यापार व्यवसाय समेत ठप्पप्रायः हुँदा यसबाट नेपाली समुदाय समेत अछुतो रहन सकेको छैन ।

अमेरिकामा व्यापार व्यवसायमा रहेका अधिकांश नेपाली ग्रोसरी स्टोर, ग्याँस स्टेशन, स्मोक सप, रेष्टुरेन्ट, श्रृङ्गार केन्द्र (ब्युटीपार्लर), नेल आर्ट पसल, होटल, सीप प्रशिक्षण (आइटी व्यवसाय) केन्द्र, घर, जग्गा तथा हाउजिङ खरीदविक्री, इन्जिनियरिङ कल्सल्टिङ, कानूनी सेवा परामर्श, वित्त सेवा परामर्श जस्ता व्यवसाय सञ्चालनमा संलग्न छन् ।

तीमध्ये ग्रोसरी व्यापारलाई यहाँ अत्यावश्यक व्यापारको रूपमा लिइने हुँदा यी व्यवसाय सञ्चालनमा रहेका भए पनि अन्य व्यवसाय लगभग बन्द छन् । सेवामा केन्द्रीत व्यवसायमा संलग्नहरु पनि सेवाग्राहीको अभावमा सञ्चालन हुन सकिरहेका छैनन् ।

होटल व्यवसाय सेवाग्राही नहुँदा बन्दप्रायः रहेको छ । कोभिड–१९ को प्रत्यक्ष असर रेष्टुरेन्ट व्यवसाय, सैलुन, ब्युटीपार्लर, नेल आर्टलगायतका व्यवसायमा लागेका नेपालीलाई परेको छ । अमेरिकामा अधिकांश राज्य तथा शहरमा नेपाली व्यवसायीले रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । न्यूयोर्कमा नेपालीको अत्यधिक रेष्टुरेन्ट रहेको छ । न्यूयोर्क कोभिड–१९ ले असर गरेको अमेरिकाको मुख्य शहर हो ।

यकिन तथ्याङ्क नभए पनि अमेरिकाका मुख्य शहरहरुमा पाँचदेखि १८ वटासम्म नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट छन् । ब्युटीपार्लर, सैलुन आदि पनि त्यस्तै संख्यामा छन् । लामो समयदेखि अमेरिकामा व्यवसायमा संलग्न गैरआवासीय नेपाली सङ्घका उत्तर अमेरिका क्षेत्रमा उपक्षेत्रीय संयोजक समेत रहेका राम सी पोखरेलले भने, ‘रेष्टुरेन्टहरु लगभग बन्द छन् । नेल आर्ट, ब्युटीपार्लर, स्मोक सप, सैलुनलगायतका व्यवसाय पनि बन्द छ, यसले धेरै नेपाली प्रभावित भएका छन् ।’

उहाँले रेष्टुरेन्ट बन्द हुँदा औसतमा एक रेष्टुरेन्टबाट १० जनाले रोजगारी पाएको मान्दा पनि धेरैको रोजगारी गुमेको बताए । रेष्टुरेन्टहरूमा विद्यार्थीहरुले काम पाउने गरेका थिए । अर्कोतर्फ स्वावलम्बन बन्न मद्दत पुर्‍याउने साना व्यापारको रूपमा रहेका ब्युटीपार्लर, सैलुन, नेल आर्ट जस्ता व्यवसाय पनि बन्द हु“दा धेरै नेपालीको जीवनलाई प्रभावित पारेको उनले बताए ।

आर्थिक गतिविधि समेत चलायमान नभएको अवस्थामा सेवामुखी व्यवसायमा संलग्न नेपाली समेत प्रभावित छन् । ग्रोसरी स्टोर सञ्चालनमा आए पनि थोक केन्द्रहरुमा अत्यावश्यक वस्तुको अभाव र उपभोक्ताको संख्यामा आएको कमीले यी व्यवसाय समेत खोल्नका लागि खोलिएको जस्तो मात्र भएको उनले बताए ।

कोभिड–१९ को असर विश्वको आर्थिक गतिविधिमा पछिसम्म पर्ने निश्चित भए जस्तै यसको असर नेपाली व्यवसायीलाई समेत पछिसम्म पर्ने अर्का व्यवसायी सुमन थापाले बताए । अमेरिकाको अर्थतन्त्रमा नै असर पारेको कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र माथि उठाउन अमेरिकी सरकारले केही राहत कार्यक्रम ल्याउने यहाँको व्यापारी व्यवसायीसँगै नेपाली व्यवसायी समेत आशावादी रहेको थापाले सुनाए ।

यस्तै नेपलीज अमेरिकन च्याम्बर अफ कमर्शका अध्यक्ष बाल जोशीले कोभिड–१९ को असर विश्व अर्थतन्त्रसँगै अमेरिकामा रहेका नेपाली व्यवसायीलाई समेत परेको बताए । व्यापार व्यवसाय गर्नेदेखि काम गरेर दैनिकी चलाइरहेका सबै नेपाली यसको मारमा परेको उनले जनाए ।

व्यापार व्यवसाय सँगसँगै रोजगारीको क्षेत्र समेत प्रभावित भएको छ । स–साना व्यवसायदेखि विभिन्न प्रतिष्ठित कम्पनी, बैंक तथा वित्तीय संस्था तथा स्वरोजगारको आधारका रूपमा रहेका ड्राइभिङ पेशासँग सम्बन्धित कम्पनीको सेवा समेत प्रभावित भएको छ ।

ड्राइभिङ पेशासँग सम्बन्धित कम्पनीको सेवामा नेपालीको उल्लेख्य सहभागिता रहेको छ । खासगरी स्वआर्जनको आधारका रूपमा यसलाई लिने नेपालीहरुको सङ्ख्या अमेरिकाको मुख्य शहरमा अत्यधिक रहेको छ । अमेरिकाका विभिन्न राज्य तथा शहरमा लकडाउन छ, जसका कारण यसमा संलग्नको रोजगारी करिब गुमेको अवस्था छ ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभावले दैनिकीमा समेत असर पुर्‍याउन थालेको छ । कामविहिन भए पनि घर, अपार्टमेन्ट, बिजुली, पानी, गाडी, इन्टरनेट, फोनलगायतका सेवाको भुक्तानी दिनुपर्ने हुँदा त्यसले चिन्ता बढाएको छ ।

समयमा भुक्तानी दिन नसक्दा त्यसको असर ‘क्रेडिट हिष्ट्री’ मा पर्ने भएकाले यसप्रति पनि सजग हुनुपर्ने हुन्छ । क्रेडिट हिष्ट्री अमेरिकामा महत्वपूर्ण पक्षभित्र पर्दछ । कम आम्दानी भएकाका निम्ति अमेरिकी सरकारले केही प्याकेज ल्याउने तयारी भने गरेको छ ।

यता गैरआवासीय नेपालीलाई कोभिड–१९ को असरबाट जोगाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका र गैरआवासीय नेपाली (एनआरएनए) सङ्घ क्यानाडाले समेत विभिन्न सचेतनामूलक अनलाइन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले अमेरिकामा रहेका विद्यार्थीदेखि लिएर सबै गैरआवासीय नेपालीलाई सर्वप्रथम महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट बच्न अमेरिकी सरकार र अन्य निकायहरुले भनेका उपायहरु अवलम्बन गर्न आग्रह गर्दै आएको बताए ।

उनले विभिन्न कमिटी बनाएर कोभिड–१९ प्रभावितलाई सहयोगको कार्य समेत अघि बढाइएको जानकारी दिए । व्यापार व्यवसायमा संलग्न नेपाली र अन्य नेपालीलाई अमेरिकी सरकारले दिन सक्ने सहुलियत र भइरहेका कार्यक्रमका बारेमा समेत जानकारी दिइरहेको उनले बताए ।

उता एनआरएनए क्यानाडाले समेत सचेतनामूलक कार्यक्रममा जोड दिएको अध्यक्ष चिरञ्जीवी घिमिरेले बताए । त्यहाँ करिब ६० हजार नेपालीको बसोबास रहेको बताइन्छ । हालसम्म क्यानाडामा रहेका कोही पनि नेपालीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छैन ।

अमेरिका र क्यानाडामा रहेका नेपाली दूतावास तथा नियोगहरुले पनि सहायता कार्यक्रमहरु गरिरहेका छन् । सेवा प्रवाहमा कमी हुन नदिई अमेरिकामा रहेका नेपालीलाई आवश्यक सहयोगका लागि दुतावासमार्फत काम भइरहेको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुनकुमार कार्कीले बताए ।

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले क्यानाडामा रहेका नेपालीलाई आवश्यक पर्ने सहयोगका लागि दूतावासले काम गरिररहेको बताए । नेपालमा रहेका क्यानाडाका बासिन्दा र गैरआवासीय नेपालीलाई क्यानाडा ल्याउन समेत दूतावास र गैरआवासीय नेपाली सङ्घको तर्फवाट पहल भइरहेको छ ।

अहिले नेपाल, अमेरिका, क्यानाडालगायत विश्वभर लकडाउनको स्थिति छ । यो अवस्थामा भ्रमण भिसामा अमेरिका र क्यानाडामा नेपालबाट आएकाहरुमा चिन्ता बढेको छ । भिसाको म्याद सकिने डर समेत उत्तिकै छ भने कतिपय औषधी सेवन गर्नुपर्ने अझ बढी चिन्तित छन् । यो महाविपत्ति भएकाले बस्ने म्याद सकिए पनि अमेरिकी सरकारले केही कार्यक्रम ल्याउन सक्ने संभावना देख्छन् आप्रवासी कानूनका एटर्नी रमेश श्रेष्ठ ।

‘अहिलेको अवस्थामा केही गर्ने होइन घरमै बस्ने हो’, उनी भन्छन्, ‘यो सबै ठिक भएपछि केही कार्यक्रम आउन सक्दछ, किनकि यो बाध्यताले गर्दा बस्नुपरेको हो ।’ उनी अहिलेको यो समयमा जोखिम नमोल्न विद्यार्थीलाई सुझाव दिन्छन् । ‘अहिले हामी सबै संवेदनशील बन्ने बेला हो ।’ उनका अनुसार काम गर्न विद्यार्थीले बढी जोड नगरेको राम्रो हुन्छ ।

खाने औषधीको अभाव हुन नदिन अमेरिका तथा क्यानाडामा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरुले सेवा समेत दिएका छन् । बाल्टिमोर एशोसिएसन अफ नेपलिज इन अमेरिकाका महासचिव किरण ढकाल अमेरिकामा रहेका नेपाली मूलका चिकित्सकहरुसँग समन्वय गरी औषधी प्रेस्किप्सनको व्यवस्था मिलाइएको बताउँछन् ।

एनआरएनएका पूर्व अध्यक्ष डा केशव पौडेलले अहिले हरेक खालका समस्या भए पनि स्वस्थ रहनु नै उत्तम हुने तर मूल पक्ष भनेको हामी स्वस्थ रहनु नै उत्तम हुने बताउँछन् । पेशाले चिकित्सक डा पौडेल भन्छन्, ‘हामी सबैले ख्याल गर्दा यो रोग फैलन पाउँदैन, अहिले केही दिन घरमै बसौँ, समस्या आए एकले अर्कालाई सहयोग पनि गरौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७