रोशीमा खानेपानी आयोजनाको काम हुँदै


२१ असार २०७७, आईतवार
water 2 scaled
फाइल फोटो

बनेपा, २१ असार । खानेपानीको चरम समस्या झेलिरहेका नारायणटार बासिन्दाले अब छिट्टै शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

रोशी गाउँपालिका–१, २ र ३ का बासिन्दालाई राष्ट्रिय योजना आयोगको रु एक करोड र भूकम्प पुनः निर्माण कार्यक्रमको एकीकृत बस्ती निर्माण कार्यक्रमअन्तर्गतको एक करोड ५० लाख खानेपानी आयोजनाका लागि प्रयोग गर्ने निर्णय भएसँगै थालनी भएको आयोजनाले गति लिएको छ ।

खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेकाले अब एक दुई हप्तामा मुख्य पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने उपभोक्ता समितिका पूर्ण तामाङले बताए ।

‘हामीले समयमा नै सम्पन्न गर्नका लागि सबै समुदाय मिलेर काम गरिरहेका छौं’, उनले भने, ‘हामी जसरी भए पनि तोकिएका समयमा मुख्य पाइपलाइन बिछ्याएर ट्याङ्की निर्माणको कामसमेत सकाउँछौँ ।’

बाँकी उपभोक्ताको घरघरमा पाइप र धारा जोड्ने काम उपभोक्ताका तर्फबाट गर्ने गरी काम भइरहेको छ । रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको बृहत् नारायणटार खानेपानी आयोजना पूरा भएपछि त्यहाँका ३२० घरधुरी लाभान्वित हुनेछन् ।

आयोजना निर्माणका लागि ठेक्का पाएको एनएस कन्स्ट्रक्शनका प्रोपाइटर ङेमा लामाका अनुसार सम्झौता भएको केही दिनमा नै बन्दाबन्दी भएकाले काम गर्न कठिनाइ भए पनि समस्याकै बीचमा काम भइरहेको र असार मसान्तभित्र काम सम्पन्न गरिने बताए । सबै सामग्री काम गर्ने स्थलमा लगिसकिएको र निर्माणस्थलमा काम धमाधम भइरहेको छ ।

सो आयोजनाको करीब दुई तिहाइ काम सम्पन्न भइसकेको वडाध्यक्ष श्रीदास लामाले बताउनुभयो । वडा नं १ को साविक खहरेपाँगुको वडा नं ६ र २ शिखरआम्बोटेलाई समेट्ने गरी बृहत् नारायणटार खानेपानी आयोजनाको गुरुयोजना तयार गरी काम अगाडि बढाएको हो ।

गुरुयोजना तयारीपछि आर्थिक वर्ष २०७५–७६ मा गाउँपालिकाको रु २२ लाख आर्थिक सहयोगमा रु बीसबीस हजारका चार ट्याङ्की निर्माण भइसकेको छ । त्यसपछि योजना आयोगमा योजना पेश गरिएअनुरुप आव २०७६–७७ मा रु एक करोड बजेट परेपछि त्यसको ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ ।

त्यसमा पनि रकम नपुग भएपछि भूकम्प पुनः निर्माणअन्तर्गत एकीकृत बस्ती विस्तार कार्यक्रमअन्तर्गत रु एक करोड ५० लाख बजेटबाट खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको वडाध्यक्ष लामाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७