सातै प्रदेशमा भारी बर्षा : बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन आग्रह


१३ श्रावण २०७७, मंगलवार
raining

काठमाडौं, १३ साउन । नेपालमा केहि दिनदेखि अलि मत्थर रहेको मनसुन आज (मंगलबार) देखि सक्रिय बनेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा भारी वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन् ।

हिजो (सोमबार) रातिदेखि नै देशका धेरै भू–भागमा वर्षाको मात्रा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । उनका अनुसार सोमबार प्रदेश–१ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षा समेत भएको छ । यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ ।

मौसमविद प्रधानाङ्गले अहिले हुम्लातिर वर्षा शुरु भइसकेको जानकारी दिए । अहिले प्रदेश–१, काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए । आज (मंगलबार) देखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र प्रदेश–५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।’

यस्तै राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी बर्षाका कारण खोलानालामा पानीको सतह बढ्ने, पहाडमा पहिरो जाने र तराईका क्षेत्रमा डुबान हुन सक्ने भएकाले बेलैमा सचेतता अपनाउन मौसमविदले आग्रह गरेका छन् । यसअघि पहिरो गएका ठाउँहरुमा पुनः पहिरो जान सक्ने भएकाले सुरक्षित स्थानमा बस्न उनीहरुले आग्रह गरेका छन् ।

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ । महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार धेरै भारी वर्षा समेत हुने सम्भावना छ ।

कस्तो रहला आउँदा तीन दिनको मौसम ?
साउन १४ गते (बुधबार)
दिउँसो– देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

राति – देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश–१, प्रदेश–२, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

साउन १५ गते (बिहीबार)
दिउँसो –देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

राति – देशभर साधारणतयादेखि अधिकांश बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश–५, र प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७