ओली-प्रचण्ड भेटवार्ता ‘एकाएक’ स्थगित


१४ आश्विन २०७७, बुधबार
kp oli prachanda

काठमाडौं, १४ असोज । मन्त्रिपरिषद पुनर्गठनको विषय टुङ्गो लगाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) हुने भनिएको भेटवार्ता ‘एकाएक’ स्थगित भएको छ ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा बिहीबारदेखि दैनिकजसो छलफलमा रहेका दुई अध्यक्षबीचको आज हुने भनिएको छलफल अचानक स्थगित भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले सहमतिमै बुधबारको बैठक स्थगित भएको जानकारी दिए ।

दुवै अध्यक्ष मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगका पदाधिकारी नियुक्तिलगायतका विषयमा निरन्तर छलफलमा रहेको बताउँदै सापकोटाले भने, ‘आज हुने भनिएको छलफल सहमतिमै स्थगित भएको हो ।’

उनले आवश्यकता अनुसार दुई अध्यक्षबीच पुनः छलफल हुने जानकारी दिएका छन् । यता बालुवाटार स्रोतले भने अध्यक्ष प्रचण्डले बैठक स्थगित गरेको जानकारी दिएको छ । मन्त्रिपरिषद पुनर्गठनका लागि दुई अध्यक्ष तयार भए पनि पुनर्गठनको मोडलका विषयमा सहमति जुटन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७