रुकुम पूर्वमा खाद्य कम्पनीको चामल विक्रीमा लापरवाही


१४ आश्विन २०७७, बुधबार

रुकुम (पूर्व), १४ असोज । रुकुम पूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन ।

रुकुम-पूर्व छुट्टैजिल्ला स्थापना भए पनि कम्पनीको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो । कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत कम्पनीको चामल वितरण भइरहेको छ । जसले गर्दा सबै नागरिकले सहजरुपमा कम्पनी लिमिटेडको चामल नपाएको गुनासो गरेका छन् ।

ठेकेदारमार्फत कम्पनीको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका-२ पेल्माका सूर्य बुढाले बताए । जिल्लामै शाखा स्थापना भई कर्मचारीको व्यवस्थापन गरेमा जिल्लावासीलाई धेरै सहज हुने उनको भनाइ छ ।

जिल्लामा अहिले कम्पनीको डिपो कार्यालय शोभा गाउँ र तकसेरा वितरण केन्द्र गरी दुई ठाउँबाट चामल वितरण भइरहेको छ । विगतका वर्षमा शोभा डिपोमा मात्रै एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिँदै आएको थियो ।

कर्मचारी अभावकै कारण निर्धारित कोटाको चामल वितरण हुन नसकेपछि पछिल्ला केही वर्षमा चामलको कोटा घटाएको कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम-पश्चिमका नीमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

जिल्लामा कर्मचारी नभएपछि चामल नियमित रुपमा बिक्री भएन । ‘निर्धारित कोटा अनुसार नै पठाएको चामल थन्किएपछि केही वर्षयता रुकुम-पूर्वमा कोटा घटाएर चामल पठाइरहेका छौं’, उनले भने । पछिल्ला केही वर्षमा जिल्लामा पठाएको चामल यहाँको मागभन्दा निकै कम भएको खड्काको भनाइ छ ।

यस वर्ष जिल्लाको दुई ठाउँमा गरी एक हजार २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । शोभा डिपोमा ७०० क्विन्टल र तकसेरा बिक्री केन्द्रमा ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको रुकुम-पश्चिम कार्यालयका निमित्त प्रमुख खड्काले बताए । निर्धारित कोटाको चामल खपत भई थप माग गरेमा आवश्यकतानुसार जिल्लामा कम्पनी लिमिटेडको चामल पठाइने उनले बताए ।

अहिले चामल वितरणका लागि ठेकेदारसँग ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको बताइएको छ । सम्झौताको काम सकिने बित्तिकै दशैं अगाडि नै गाउँमा चामल पुर्‍याउने गरी काम अगाडि बढाइने बताइएको छ । शोभा डिपोका लागि दाङबाट र तकसेराको लागि भैरहवाबाट चामल आउने छ । रुकुम पश्चिममा रहेको कम्पनीको शाखाले दुवै जिल्लामा काम गर्छ ।

पटक-पटक रुकुम-पूर्वका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताए । रुकुमकोटमा शाखा स्थापना गर्नुका साथै हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँ गरी जिल्लाभर १० वटा डिपो कार्यालयको स्थापना गर्न गत वर्ष सिफारिस गरी पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको खड्काले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७