टेकु अस्पतालका सबै शैंयामा अक्सिजन


३० आश्विन २०७७, शुक्रबार
teku

काठमाडौं, ३० असोज । कोरोना भाइरस संक्रमितको ज्यान जोगाउन सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले सबै शैंयामा अक्सिजन जडान गरेको छ ।

कोरोना संक्रमितलाई आइसियू र भेन्टिलेटरभन्दा अक्सिजनको आवश्यकता पर्ने भएकाले सबै शैंयामा शुक्रराज अस्पतालले अक्सिजन जडान गरेको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा चिकित्सकले अस्पतालमा धेरैभन्दा धेरै अक्सिजनको आवश्यकता महसुस गरेको बताएका छन् । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका कोभिड चिकित्सक डा. अनुप बाँस्तोला आइसियू र भेन्टिलेटरभन्दा पनि अब अक्सिजन अपरिहार्य भएको बताउँछन् । त्यसैलाई ध्यानमा राखेर शुक्रराज अस्पतालले सबै शैंयामा अक्सिजन जडान गरेको उनको भनाइ छ ।

देशभरका एक सय २५ अस्पतालमध्ये शुक्रराज अस्पतालले आवश्यक पूर्वाधारको व्यापक विस्तार गरेको छ । अहिले अस्पतालमा २५ आइसियू र आठवटा भेन्टिलेटर छन् । ५९ शय्याको अस्पतालले पछिल्लो समय आइसियू र भेन्टिलेटरभन्दा अक्सिजन विस्तारमा जोड दिएको छ ।

जसले गर्दा धेरै बिरामीको ज्यान जोगाउन सकिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । अहिलेसम्म शुक्रराज अस्पतालमा तीन जना मात्रै संक्रमितको ज्यान गएको छ ।

अहिले फेरि अस्पतालले सबै शैंयामा अक्सिजन जडान गरेको छ । कोरोना संक्रमित धेरै बिरामीलाई आइसियू र भेन्टिलेटरभन्दा पनि अक्सिजन अतिआवश्यक रहेको बताउँदै निर्देशक डा. राजभण्डारीले भने, ‘हामीले गम्भीर अवस्था आउने देखेर सुरुमै लिक्विड अक्सिजन प्लान्ट जडान गरेका थियौं । अहिले उपलब्ध भएका सबै बेडमा अक्सिजन जडान गरेका छौैँ ।’

शुक्रराज अस्पतालले ६८ लाख खर्च गरेर वैशाख अन्तिमतिर ‘लिक्विड अक्सिजन प्लान्ट’ जडान गरेको थियो । त्यसअघि सिलिन्डर प्रयोग हुँदै आएको थियो । ‘विगतमा अक्सिजन प्लान्टले तीन महिना पुगेको थियो,’ अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले भने, ‘अहिले केस बढ्दै गएकाले एक महिनाभन्दा पुगेको छैन ।’

आकस्मिक कक्षमा रहेका १० शैंयामा पनि केही दिनभित्र अक्सिजन जडान गर्ने तयारी रहेको उनले बताए । चिकित्सकहरूले श्वासप्रश्वासमा समस्या भएका कोरोना संक्रमितलाई अक्सिजन मात्रै दिएको खण्डमा पनि धेरैको जीवन बचाउन सक्ने बताएका छन् ।

वीरमा अक्सिजन प्लान्ट बिग्रियो
वीर अस्पतालमा भने लिक्विड अक्सिजन प्लान्ट बिग्रिएको छ । ६ महिनाअघि बिग्रिएको अक्सिजन प्लान्ट अझै मर्मत हुन सकेको छैन । जसले गर्दा कोरोना संक्रमितको उपचारमा समस्या आएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लकडाउनको समयमा अक्सिजन प्लान्ट बिग्रिएको बताए । ‘पटकपटक बनाएर प्रयोग गरे पनि प्लान्टको भित्रको भाग जाम भएकाले सम्भव नभएपछि त्यसलाई परिवर्तन गर्नुपर्ने भएको छ,’ डा. सेन्चुरीले भने, ‘फ्रान्सबाट आवश्यक सामान ल्याउनुपर्ने भएकाले केही समय लागेको हो ।’ यसको मर्मतमा करिब ३५ लाख रुपैयाँ लाग्न सक्ने उनले बताए ।

एक वर्षअघि निर्माण गरेको अक्सिजन प्लान्ट बिग्रिएपछि वीर अस्पतालले अहिले सिलिन्डर प्रयोग गर्दै आएको छ । कोभिडका बिरामीलाई एक सिलिन्डरले औसतमा तीन घन्टा मात्रै पुग्छ । जसले गर्दा २४सै घन्टा अक्सिजन दिनुपर्ने बिरामीलाई समस्या हुने चिकित्सक बताउँछन् । वीरमा दैनिक ८० देखि ९० सिलिन्डर खपत हुँदै आएको छ ।

आइसियूको बजेट फ्रिज
गत २ चैतमा सरकारले ६ अस्पतालमा एक सय २० आइसियू थप्न ६२ करोड ५० लाख दिएको थियो । जसमा शुक्रराज अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियू थप्न बजेट दिइएको थियो ।

तर, टेकु अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालले नयाँ थप गर्न नसकेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । उनका अनुसार अरू पाँच वटै अस्पतालको रकम फ्रिज भएको छ ।

वीर अस्पतालका निर्देशक डा. सेन्चुरीले खरिद प्रक्रियामा देखिएको समस्याले समयमा आइसियू किन्न नसकिएको बताए । ‘अन्तिममा रकम आएको थियो । खरिद प्रक्रिया गर्दागर्दै समयले नभ्याएको हो । अहिले रकम आएको छैन,’ उनले भने ।

तीन हजार सात सय ४९ जनामा संक्रमण
देशभर १६ हजार पाँच सय ९८ नमुना परीक्षण गर्दा तीन हजार सात सय ४९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

योसँगै संक्रमितको संख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट एकैदिन १९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा तीन हजार पाँच सय ६४ जना निको भएका छन् । अहिलेसम्म ८४ हजार पाँच सय १८ जना निको भएका छन् । सक्रिय संक्रमितको ३६ हजार पाँच सय ३३ रहेको छ । उनीहरूमध्ये २४ हजार एक सय ९४ जना घरमा बसेका छन् । अहिले तीन सय १४ जना आइसियू र ६८ जना भेन्टिलेटरमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

देशभर ३९ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

कोभिड संक्रमणको नौ महिनामा करिब चार हजार स्वास्थ्यकर्मी संक्रमित भएको सरकारी तथ्यांकले देखाएको छ । २७ असोजसम्मको तथ्यांकअनुसार मुलुकभर तीन हजार नौ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७