सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ करोडको प्रशासनिक भवन निर्माण


२७ कार्तिक २०७७, बिहीबार
Su School

सुदूरपश्चिम, २७ कार्तिक । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा विश्वविद्यालय स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माण गरिएको हो ।

बुधवार नवनिर्मित भवनमा पूजापाठपश्चात कार्यालय सञ्चालनमा ल्याइएको छ । विसं २०६७ मा स्थापना भएको विश्वविद्यालय भवनको अभावमा यसअघि भाडाका घरमा सञ्चालन हुँदै आएको थियो ।

नवनिर्मित भवनमा ३५ कोठा र दुई बैठक कक्ष रहेका छन् । भवन रु १३ करोडको लागतमा निर्माण गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा गोविन्द विष्टले प्रशासनिक भवन निर्माण भएपछि दैनिक कामकाज नयाँ भवनबाट शुरु गरिएको बताए ।

‘विश्वविद्यालय स्थापना भए पनि आफनै भवन थिएन’, उनले भने, ‘मासिकरूपमा रु ६५ हजार घरभाडा तिरेर प्रशासनिक कार्यसञ्चालन गर्दै आएका थियौँ । विश्वविद्यालयको आफ्नै भवन भएपछि कामकाज गर्न निकै सहज हुने भएको छ ।’ विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले प्रशासनिक भवन अहिले एक तलाको बनेको भए पनि निकट भविष्यमै तीनतले भवन निर्माण गरिने बताए ।

‘प्रशासनिक भवनसँगै आवासगृह समेत बनाउने योजना छ’, उनले भने, ‘अन्य आवश्यक भौतिक पूर्वाधार विकासको कार्यसमेत शुरु गर्छौँ ।’ तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको १९ बिघा जग्गा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि उपलब्ध गराइएको थियो ।

उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन अनुमति दिइने

उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ ।

कोरोना भाइरसका कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव पूर्ति गर्नका लागि र उपभोग्य वस्तुको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीनलगायत अन्य मुलुकबाट सुरक्षितरूपमा विदेशी श्रमिक ल्याउन अनुमति दिनका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

विदेशी श्रमिक ल्याउने उद्योगले नियमानुसारको ढाँचामा निवेदन दिएमा अनुमति प्रदान गरिने भएको छ । उत्पादशील उद्योगका लागि विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिएमा श्रमिक ल्याउन पाउने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

श्रमिक ल्याउने उद्योगले निवदेनसाथ उद्योग दर्ताको प्रतिलिपि, स्वदेशी वा विदेशी लगानी खुल्ने कागजात, प्रचलित कानूनबमोजिम कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

साथै विदेशबाट श्रमिक ल्याउनुपर्ने औचित्यसहित श्रमिक ल्याउने मुलुक, नेपाल प्रवेश गर्ने विन्दु र उक्त श्रमिक बस्ने स्थानसहितको विवरण, श्रमिक ल्याउने मुलुकअनुसार श्रमिकको नाम र परिचय खुल्ने कागजात समेत पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७